काठमाण्डौ । बजार घटेर निराश बनेका लगानीकर्ताहरु माझ नेपाल एसबीआई बैंकको एफपीओ हटकेक नै बनेको छ । लगानीकर्ताहरुको अचाक्ली आकर्षणकै कारण ६ करोड ५८ लाख रुपैयाँको कुल एफपीओको आवेदन मागिएकोमा तेश्रो दिनसम्म ४३ गुणा बढी अर्थात करिब २ अर्ब ८२ करोड रुपैयाँ बढीको प्रस्ताव परेको हो ।

एसबीआईको एफपीओको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार तेश्रो दिन मात्रै १५ हजार ८ सय ८० आवेदनहरुबाट १ अर्ब ३६ करोडको प्रस्ताव परेको छ । तीन दिनको अवधिमा कुल ३१ हजार ३ सय ७७ आवेदनबाट २ अर्ब ८२ करोड बढीको प्रस्ताव आएको हो । 

एफपीओका लागि आवेदन दिने अन्तिम दिन बिहीबार पनि भएकोले आवेदकहरुको संख्या अझ माथि जाने देखिएको छ । अन्तिम दिन बिहीबार आवेदन संकलन केन्द्रहरुमा निकै लामो लाइन रहेकाले समेत आवेदकहरु अझै बढ्ने देखिएको छ । 

लगानीकर्ताहरुलाई न्यूनतम १० कित्तादेखि अधिकतम ६७० कित्तासम्म एफपीओ भर्न पाउने व्यवस्था मिलाइएको थियो ।  

हाल नेपाल एसबीआई बैंकको संस्थापक र साधारण सेयरधनीको स्वामित्व संरचना ७०.१२ : २९.८८ प्रतिशत रहेको छ । एफपीओपछि यो संरचना ७० : ३० मा रुपान्तरण हुनेछ । 

यो बैंकले यसअघि आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरिसकेको छ । यसका साथै, बैंकले ४० प्रतिशत हकप्रद सेयरको समेत प्रस्ताव गरेको छ । 

एफपीओ पाउने सेयरधनीहरुले समेत प्रस्तावित बोनस सेयर र हकप्रद पाउने भएकाले एसबीआईको एफपीओमा आवेदन दिनेहरुको संख्या अचाक्ली देखिएको हो । 

यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ।