काठमाण्डौ । सभामुख ओनसरी घर्तीले संविधान संशोधनलगायतका विषयमा तीन दिनभित्र सहमति गरेर संसद् खुलाउन दलहरूलाई पुनः आग्रह गरेकी छिन् ।

सकेसम्म संशोधनमा सहमति, नभए प्रक्रियामा जान सहमति गर्न उनले आग्रह गरेकी हुन् । दलबीच सहमति नभएमा एकैदिन पटक–पटक बैठक राखेर सदनभित्रै सहमतिको पहल गरिने उनले बताएकी खबर आजको नयाँ पत्रिकामा छ ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख घर्तीले सहमति गरेर संसद् खोल्न आग्रह गरेकी थिइन् । ‘संसद् नियमित चल्नुपर्नेमा त्यसको विपरीत अवरुद्ध भइरहेको छ, यो सुखद पक्ष होइन ।

मैले दलहरूलाई तीन दिनभित्र सहमति गर्न समय दिएकी छु,’ बैठकपछि उनले पत्रकारसँग भनिन्, ‘तीन दिनभित्र सहमति हुन्छ भन्ने विश्वास छ । विषयमा सहमति नभए प्रक्रियामा सहमति गर्नुहोस् भनेकी छु । त्यो पनि नभए १८ गतेको संसद् बैठकमै एकैदिन केही ग्याप राख्दै लगातार दुई–तीन बैठक राख्दै अगाडि बढ्नेछु ।’ 

एमालेसहित विपक्षी नौ दलले बिहीबार पनि संसद् अवरोध गरेपछि सभामुख घर्तीले १८ पुससम्मका लागि संसद् बैठक स्थगित गरेकी छिन् । संविधान संशोधनसहित संविधान कार्यान्वयनका लागि आवश्यक विधेयक संसद्मा रहेकाले प्रक्रियामा गएर भए पनि निकास खोज्नुपर्नेमा सभामुखको जोड छ ।

‘प्रक्रियाभन्दा अन्य विकल्पै छैन, मैले दलहरूलाई भनेकी छु, उहाँहरूलाई ध्यानाकर्षण गराएकै छु,’ सभामुखले भनिन्, ‘हामीले आगामी ७ माघ ०७४ भित्रै तीन तहको निर्वाचन गराउनुपर्नेछ । निर्वाचनसँग सम्बन्धित दुई विधेयक कार्यसूचीमा राखिरहेको छु । यस विषयमा पनि उहाँहरूको ध्यानाकर्षण गराउँदै आएको छु ।’

सरकारले १४ मंसिरमा संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालेसहितका विपक्षी दलले संसद् चल्न दिएका छैनन् । १६ मंसिरयता संसद् अवरुद्ध हुँदै आएको छ । संसद् खुलाउन यसअघि पनि सभामुख घर्तीले ४ पुसमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई बोलाएर तीन दिनभित्र सहमति गर्न आग्रह गरेकी थिइन् ।

प्रमुख दलबीच सहमति हुन नसकेपछि उनले सात दल बैठक राखेकी थिइन् । तर, सहमति हुन सकेको छैन । दलहरूबीच धु्रवीकरण बढेपछि सभामुख घर्तीले सहमतिका लागि पहल गर्दै आएकी छिन् ।

प्रधानमन्त्री भ्यालीबाहिर नजाने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध नहटेसम्म उपत्यकाबाहिर नजाने बताएका छन् । निकासका लागि दलहरूसँग निरन्तर छलफल बस्ने उनले सभामुख ओनसरी घर्तीलाई बताएका छन् । ‘प्रधानमन्त्रीले अब संसद्को गतिरोध नफुकेसम्म भ्यालीबाहिर नजाने बताउनुभएको छ,’ घर्तीले भनिन्, ‘मलाई विश्वास छ, अब दलहरूले योबीचमा घनीभूत छलफल गरेर सहमति निकाल्नुहुनेछ ।’