काठमाण्डौ । अंग्रेजी नयाँ वर्षलाई पूूँजीबजारले न्यानो स्वागत गरेको छ । नयाँ वर्षको पहिलो दिन तथा साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक २२.३४ अंकले बढी १४६५.७२ अंकको उचाईमा पुुगेको हो । 

गत साताको अन्तिम दुुई कारोबार दिनदेखि सुधारको बाटोमा हिँडेको बजारबाट आशावादी देखिएका लगानीकर्तामा उत्साह र जाँगर फर्किएको आइतबारको कारोबारले देखाएको छ । आइतबार बजारलाई गुल्जार बनाउन नेपाल टेलिकमको महत्वपूर्ण देन रह्यो । 

आइतबार अधिकांश समूहको सूचकमा हरियो पोतियो । बित्त समूह झिनो अंकले घट्यो भने उत्पादनमूलकमा ३९.८६ अंकको गिरावट देखियो । 

वाणिज्य बैंक समूह २९.३४ अंकले उकालायो लाग्यो । होटल २५.६४, विकास बैंक २३.२१, जलविद्युत २६.१, बिमा २७.६७ र अन्य समूह ७.५२ अंकले बढे । 

क वर्गका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएका कारण सेन्सेटिभ इण्डेक्स ५.०८ अंकले बढ्यो भने फ्लोट इण्डेक्समा १.८८ अंकको बढोत्तरी देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा १ सय ३४ कम्पनीको कुल १३ लाख ७ हजार ६५ कित्ता सेयर ५७ करोड ३३ लाखमा किनबेच भयो । 

वाणिज्य बैंकहरुले १९ करोड ६२ लाखको कारोबार गरे भने बिमा समूहले १६करोड २२ लाख, विकास बैंकहरुले ५ करोड ८६ लाख बढीको कारोबार गरे । 

कम्पनीगत हिसाबले फोरजी सेवा सुरु भएकै दिन नेपाल टेलिकमले बाजी मार्यो । यो कम्पनीको मात्रै ९ करोड ४२ लाख बराबरको सेयर कारोबार भयो । एफपीओ निश्कासनको अनुमति पाएको नेपाल लाइफ इन्स्योरेन्समा पनि लगानीकर्ताको आकर्षण देखियो । यो कम्पनीको कुल २ करोड ८५ लाखको सेयर कारोबार भयो । एभरेष्ट बैंकले २ करोड ८० लाखको, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ करोड २७ लाख, बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले १ करोड ८५ लाखको कारोबार गरे । आइतबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान बित्तीय कम्पनीहरुले, २ स्थान बिमा कम्पनीले, १ स्थान उत्पादनमूलक र १ स्थान अन्य समूहमा सूचिकृत कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सुधारिएको बजारमा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, हाम्रो विकास बैंकले ८ प्रतिशतको हाराहारीमा र प्रिमियर इन्स्योरेन्सले ७ प्रतिशतको हाराहारीमा सेयर मूल्य बढाए । 

आइतबार सबैभन्दा बढी गुमाउनेमा गुड्विल फाइनान्स अगाडि देखियो । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो । बोटलर्स नेपाल तराई लिमीटेडका सेयरधनीले समेत ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।