काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमबार थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ गरेका छन् । 

निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताए । 

संचालक अम्बिकाप्रसाद पौडेलले चन्द्रागिरि क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको बारेमा प्रकाश पारेका थिए । 

चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुका लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवाको व्यवस्था गरेको हो । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट छुट्ने बताइएको छ । 

महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने बताइएको छ । यी बसहरु तत् तत् स्थानहरु हुँदै फर्कने छन् । चन्द्रागिरि केबलकारको टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिन्छ ।