काठमाण्डौ । ०६२/६३ को जनआन्दोलनलगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो । त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन । 

त्यसअघि भने सरकारले निरन्तर रूपमा पृथ्वीजयन्तीमा बिदा दिँदै आएको थियो भने सरकारीस्तरमै पृथ्वीनारायण शाहको सम्मानमा कार्यक्रम हुने गरेको थियो । यस वर्ष क्रिसमस दिवसको अघिल्लो दिन सार्वजनिक बिदा दिएको सरकार पृथ्वीजयन्तीमा बिदा दिन दबाबमा परेको थियो ।

त्यस वर्ष जनआन्दोलनको उत्कर्षमा सिंहदरबार मूलगेटसामुन्ने रहेको पृथ्वीनारायण शाहको सालिक तोडफोड भएको थियो । त्यतिवेलाको राजनीतिक माहोलका कारण पृथ्वीजयन्तीको बिदा कटौती भएको तत्कालीन गृहसचिव उमेश मैनालीले बताए ।

‘गृह मन्त्रालयले प्रस्ताव पेस गर्ने, मन्त्रिपरिषद्ले निर्णय गर्ने हो । त्यो वर्ष पनि बिदासम्बन्धी निर्णय त्यसैगरी भएको हो,’ हाल लोकसेवा आयोगका अध्यक्ष रहेका मैनालीले भने, ‘मन्त्रिपरिषद्ले बिदा कटौती गर्ने निर्णय गरेको हो, पृथ्वीजयन्ती नमनाउने निर्णय गृह मन्त्रालयस्तरको होइन । मन्त्रालयले सार्वजनिक बिदा दिने वा हटाउने निर्णय गर्न सक्दैन ।’

तर, त्यसवेला के–कति कारणले बिदा कटौती भएको हो भन्नेबारे सार्वजनिक टिप्पणी नगर्ने मैनालीले बताए । ‘अहिलेकै सरकार कति दबाबमा छ, त्यो वेलाको परिस्थिति अहिलेजत्तिको सहज थिएन । शान्तिवार्ता चलिरहेको थियो, राजनीति अर्कै थियो । त्यो वेलालाई अहिलेको सन्दर्भमा हेर्न मिल्दैन,’ मैनालीको तर्क छ ।

तर, गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्का एक सदस्यले भने बिदा कटौती गर्ने आफ्नो निर्णयबारे कोइराला पछिसम्म दोधारमा रहेको बताए । ‘हामीले यो निर्णय उचित गरेनौँ कि भन्ने उहाँलाई पछिसम्म लागिरहेको थियो, तर उहाँले त्यसलाई उल्ट्याउने साहस गर्न सक्नुभएन । त्यो परिस्थिति भएन,’ त्यो वेलाका एक मन्त्रीले अनौपचारिक कुराकानीमा बताए ।

यस वर्ष राष्ट्रपति, प्रधानमन्त्री, अधिकांश दल पृथ्वीजयन्तीमा बिदा दिन एकमत थिए । तर, मंगलबार अबेरसम्म सार्वजनिक बिदा दिने सरकारी निर्णय भएन । ‘यो अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो,’ राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले भने, ‘राष्ट्रनिर्माताको सम्मान गर्न नसक्ने यो सरकार अदृश्य शक्तिको दबाब वा प्रभावमा छ भन्ने स्पष्ट भयो । राप्रपा अत्यन्त चिन्तित छ ।’ यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।