काठमाण्डौ । कुनै पनि देशको अर्थतन्त्रमा लिपिस्टिकको के प्रभाव हुनसक्ला ? के लिपिस्टिकको औधी बिक्रीलाई देशको कमजोर अर्थतन्त्रको संकेतको रुपमा अनुमान लगाउन सकिन्छ ? सुरुमा त तपाईलाई यी जिज्ञासा फेद न टुप्पोको जस्तो लाग्नसक्छ । तर, जब तपाईले लिपिस्टिकको अचाक्ली बिक्रीलाई चीनको अर्थ व्यवस्थासँग जोडेर हेर्नुहुन्छ, तब आश्चर्यमा पर्नु हुनेछ । हजूर, विश्वकै सबैभन्दा शक्तिशाली अर्थतन्त्रको रुपमा उदाइरहेको चीनमा हिजोआज ‘लिपिस्टिक इफेक्ट’को प्रभाव देखिन थालेको छ । हालै त्यहाँ सम्पन्न स्प्रिङ फेस्टिबलको दौरान लिपिस्टिकको बिक्रीमा भारी बढोत्तरी भएको छ । यसले चीनको विकास तथा समग्र अर्थतन्त्रको बिषयमा खास कुरा संकेत गरिरहेको भन्दै अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । 

यो वर्ष चीनमा लिपिस्टिकको बिक्रीमा ११६ प्रतिशतको वृद्धि भयो । अर्थशास्त्रीहरुले यो वृद्धिलाई चीनको अर्थतन्त्रका लागि खतराको घण्टी मानिरहेका छन् । यो प्रभावलाई अर्थशास्त्रीहरुले ‘दि लिपिस्टिक इफेक्ट’को संज्ञा दिएका छन् । 

५६ प्रतिशत मानिस ९० को दशकमा जन्मिएका
चिनियाँ मिडिया रिपोर्टका अनुसार यो वर्ष लिपिस्टिकको बिक्रीमा ११६ प्रतिशतको वृद्धि देखिएको छ । यी लिपिस्टिक खरीद गर्नेहरुमा ५६ प्रतिशत त्यस्ता मानिस थिए, जो ९० को दशकमा जन्मिए । यसको अर्थ हो, यस्तो खरिदारी २० देखि २५ वर्षका उमेरका युवतीहरुले गरेका थिए । यस्तै, ३० प्रतिशत जनसंख्या तिनीहरुको थियो, जो ८० को दशकमा जन्मिएका थिए । यसमा पनि चीनका तीन प्रान्तहरु गङडोङ, जिजाङ र जियाङ्शुमा लिपिस्टिकको बिक्री सबैभन्दा बढी भयो । 

यसकारण हैरान छन् अर्थशास्त्री
खरिददारीको तरिकाले चीनका ठूला–ठूला अर्थशास्त्रीलाई समेत चिन्तामा पारिदिएको छ । खासमा अर्थशास्त्रीहरु यसकारण चिन्तित छन् कि, चीनमा केही वर्षदेखि निकै सस्तो सामानको बिक्री अचाक्ली बढिरहेको छ । अर्थशास्त्रीको तर्कअनुसार सुस्त गतिमा भइरहेको विकास तथा भित्रभित्रै भइरहेको आर्थिक मन्दीको क्रममा मानिसहरु महंगो सामान खरीद गर्नुको साटो सस्तो सामानतर्फ लाग्छन् । यही कारण यस्तो बेलामा लिपिस्टिक, वाइन, चकलेट जस्ता वस्तुहरुको बिक्रीमा पत्याउनै नसकिने बढोत्तरी हुने गर्छ । 

मेकअप र कस्मेटिकको बिक्री पनि उच्च
चीनका अखबारहरुका अनुसार आर्थिक मन्दीको प्रभावका कारण मेकअप र कस्मेटिक सामानको बिक्री पनि तीव्र गतिमा भइरहेको छ । चीनका कतिपय क्षेत्रका पुरुषहरु समेत आफ्नो लुक्सलाई लिएर निकै सजग हुन थालेका छन् । यही कारण पुरुष फेसनसँग जोडिएका सस्ता सामानहरुको बिक्री पनि यो बेला उच्च गतिले भइरहेको छ । 

फोब्र्स म्यागजिनले हालै भनेको थियो कि सन् २०१६ मा चीनको आर्थिक विकासले तीव्र गति समात्नुपछाडिको मुख्य कारण सरकारको लगानी रहेको थियो । तर आम रुपमा ग्रोथ जनताको खर्च गर्ने तरिकाले पनि निर्धारण हुन्छ । यसबाट यो प्रष्ट हुन्छ कि चीनको अर्थव्यवस्था केही मुश्किलहरुको सामना गरिरहेको छ । 

स्मार्ट प्रोडक्ट्समा उछाल
चीनका कयौं गाउँहरुमा स्मार्ट प्रोडक्ट्सहरु जस्तै, स्मार्ट घडी, स्मार्ट क्यामेरा, स्मार्ट बेड, स्मार्टफोन जस्ता कयौं उत्पादनहरुको बिक्रीमा बढोत्तरी देख्न थालिएको छ । यो क्षेत्रमा यी उत्पादनको मामलामा ३० प्रतिशतसम्मको उछाल देखिएको छ ।