काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाण्डौ र काभ्रेका केही अस्पतालहरुलाई विविध सहयोग सामाग्री हस्तान्तरण गरेको छ । 

कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर उपलब्ध गराएको छ । यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा कम्बल हस्तान्तरण गरिएको छ । प्रसूति गृहमा १५० थान र पाटन अस्पतालमा १०० थान नवजात शिशुका लागि कम्बल हस्तान्तरण गरिएको हो । 

वीर अस्पताल र गंगालाल हृदय केन्द्रमा विरामीहरुका लागि सय/सय थान कम्बल हस्तान्तरण गरिएको छ । वीर अस्पताल र गंगालाल हृदय केन्द्रमा सेवाग्राहीहरुका लागि एक/एक थान मोबाइल चार्जिङ स्टेसन समेत उपलब्ध गराइएको छ । 

सहयोग सामाग्री हन्तान्तरण कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, नायब प्रबन्ध निर्देशकहरु, निर्देशकहरु र अन्य बरिष्ठ अधिकृतहरुका साथै कम्पनीमा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरु समेतको उपस्थिति थियो । 

प्रबन्ध निर्देशक राजभण्डारीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसरमा यस प्रकारको सहयोग गरेको र यसबाट अस्पतालका सेवाग्राहीलाई केही मात्रामा भए पनि सहयोग पुग्ने अपेक्षा गरेको बताइन । 

नेपाल टेलिकमले आगामी शनिबार १३ औं वार्षिकोत्सव मनाउने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।