काठमाण्डौ । माओवादीसँगको सत्ता सहकार्यको क्रममा कमजोर भूमिकामा नेतृत्व देखिएपछि र त्यही कमजोरीका कारण देशव्यापी रुपमा पार्टीको साख कमजोर बन्दै गएको निश्कर्षमा पुुगेका कांग्रेस नेताहरुले अर्को पार्टी खोल्ने निर्णय गरेका छन् । 

नेपाली कांग्रेसका ३ दर्जन बढी पूर्वमन्त्री, उतिकै संख्यामा रहेका पूर्व सांसद तथा केही बहालवाला सांसद समेतको अग्रसरतामा नेपाली कांग्रेसलाई फूटाएर नयाँ पार्टी खोल्न लागिएको हो । 

‘अहिलेको नेतृत्व वीपीको समाजवादी मार्गदर्शनप्रति उदासीन रह्यो । नेताहरुले सत्ताको दुरुपयोग गरी सात पुस्तालाई पुुग्ने पैसा कमाए, आफ्ना भाइभतिजाको मात्र हित हेरे, लाखौं बेरोजगार युवा तथा गरीबहरुको हितमा काम गरेनन्, देशलाई डूूबाए ।’ 

समाचार स्रोतका अनुसार यसअघि निर्वाचन आयोगमा दर्ता भएको नेपाली कांग्रेस(राष्ट्रवादी)को नाम संसोधन गरी नेपाली कांग्रेस(वीपी) राख्ने समेत विद्रोहको निर्णयमा पुुगेका नेताहरुबीच सहमति भएको छ । 

‘केही दिनमै नेपाली कांग्रेस (वीपी) नामको पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ, हामीले त्यसका लागि सबै तयारी पूरा गरिसकेका छौ ।’ कांग्रेसका एक पूर्वमन्त्रीले बिजशालालाई आफ्नो नाम तथा टिमको नाम तत्काल नखुलाइदिने शर्तमा भने–‘हामी स्थानीय निर्वाचनअघिसम्म सशक्त रुपमा नयाँ र जोशिलो कांग्रेस बनेर सार्वजनिक हुनेछौ ।’ 

ती नेताका अनुसार कांग्रेसलाई फूटाएर बनाउन लागिएको नेपाली कांग्रेस(वीपी)ले वीपी कोइरालाको समाजवादी सिद्धान्तलाई अक्षरंश अगाडि बढाउनेछ । 

‘अहिलेको नेतृत्व वीपीको समाजवादी मार्गदर्शनप्रति उदासीन रह्यो ।’ ती नेताले भने–‘नेताहरुले सत्ताको दुरुपयोग गरी सात पुस्तालाई पुुग्ने पैसा कमाए, आफ्ना भाइभतिजाको मात्र हित हेरे, लाखौं बेरोजगार युवा तथा गरीबहरुको हितमा काम गरेनन्, देशलाई डूूबाए ।’ 

नयाँ पार्टी गठनको निर्णयका लागि विगत तीन सातादेखि काठमाण्डौमा पटक–पटक नेताहरुको बैठक बसेको थियो । छुट्टै नेपाली कांग्रेस गठनको अभियानमा कांग्रेस निकटका उद्योगी व्यापारी, पूर्व प्रशासकहरुको समेत साथ रहेको ती नेताले दाबी गरेका छन् । 

नयाँ कांग्रेस पार्टी गठनको निर्णयसँगै नेताहरुले हालसम्म काठमाण्डौ लगायत १८ वटा जिल्लामा जिल्ला कार्यसमिति समेत तयार गरिसकेका छन् । आगामी दिनमा ७५ वटै जिल्लामा पार्टीलाई बिस्तार गरी एकैपटक सशक्त ढंगले सार्वजनिक हुने आफूूहरुको योजना रहेको ती नेताले सुनाए।

कांग्रेसलाई फूटाएर बनाइने भनिएको नेपाली कांग्रेस (वीपी)को झण्डा कांग्रेसको झै चारतारे नै हुनेछ भने चुनाव चिन्ह रुखमा शान्तिका प्रतिक परेवा बसेको बनाउने नेताहरुको प्रयास छ । ‘आफ्नै पार्टीका लोभीपापी र स्वार्थीहरुलाई स्थानीय निर्वाचनअघि झट्का दिने हाम्रो योजना हो ।’ छुट्टै पार्टी बनाउने अभियानमा लागेका कांग्रेसका बहालवाला सांसदले भने–‘वीपी, किसुनजी, गणेशमान र गिरिजाबाबुको लाइनलाई अहिलेको नेतृत्वले भूलिसक्यो । कांग्रेस अब कांग्रेस रहेन । त्यसैले रहरलाग्दो र सिद्धान्तप्रति प्रतिबद्ध कांग्रेसको खाँचो देखिएकोले नयाँ पार्टी बनाउन लागिएको हो ।’ 

नेताहरुले बहालवाला केही केन्द्रीय सदस्य, थप केही सांसद र पुराना नेताहरुलाई समेत नयाँ पार्टीमा समेट्ने प्रयास जारी बताएका छन् । उनीहरुका अनुसार नयाँ पार्टीको नेतृत्व कांग्रेसमा हलचल पैदा गर्न सक्ने नेताले गर्न लागेको समेत दाबी गरेका छन् ।