काठमाण्डौ । ‘मार्केट मेकर’को रुपमा चिनिए पनि पछिल्लो कालमा कमजोर बन्दै गएको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई नेपाल धितोपत्र बोर्डले बजार घटिरहेको अवस्थामा हतार–हतार एफपीओ निश्कासनको अनुमति दिएको पाइएको छ । 

बजार घटिरहेको तथा तरलताको सकसले अर्थतन्त्र नै संकुचित बनिरहेको बेला केही समयका लागि सार्वजनिक निश्कासनको प्रक्रिया अगाडि नबढाउँदा समेत हुने अवस्थामा बोर्डले एफपीओका लागि आवेदन दिएको १८ दिनमै स्ट्याण्डर्ड चार्टर्डलाई उसले प्रस्ताव गरेकै मूल्यमा निश्कासनको सोमबार अनुमति दिएको हो । 

अनुमति पाएको खबर सार्वजनिक भएसँगै धेरै लगानीकर्तामा स्ट्याण्डर्ड चार्टर्डको एफपीओ भर्ने या नभर्ने भन्ने द्विविधा छ । एकातिर यो बैंकको बित्तीय अवस्था कमजोर बन्दै गएको छ भने अर्कोतर्फ घट्दो बजारमा यसको कारोबार मूल्य समेत निकै तल झरिसकेको छ । यस्तो अवस्थामा प्रस्तावित महंगो मूल्यमा एफपीओ किनेर फाइदा हुने या नहुने भन्ने लेखाजोखा पनि लगानीकर्ताहरुले गरिरहेका छन् । त्यस्तै, यसअघिका सार्वजनिक निश्कासनमा पैसा फसाउँदा समग्र सेयर बजार घटेर चौपट भएको यथार्थलाई समेत लगानीकर्ताहरुले भूूल्न हुँदैन । 

अर्कोतर्फ, नेपालबाट करोडौं रुपैयाँ विदेश लैजाने मनशायबाट प्रेरित स्ट्याण्डर्डको एफपीओ भर्दा देशको हित हेर्नुपर्छ कि पर्दैन भन्ने बहस समेत छेडिएको छ । यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यमा ११९० रुपैयाँ प्रिमियम तोकेर प्रतिकित्ता १२९० रुपैयाँमा एफपीओ निश्कासनको अनुमति पाएको छ । कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निश्कासन गर्न लागेको हो । यसरी हेर्दा कुल ३ अर्ब ३० करोड रुपैयाँ एफपीओबाट यो बैंकले संकलन गर्नेछ । जसमध्ये २५ करोड रुपैयाँ(प्रति कित्ता १ सय दरले) चुक्तापूँजीमा थपिनेछ भने बाँकी ३ अर्ब पाँच करोड रुपैयाँ बैंकको सञ्चित कोषमा जम्मा हुनेछ । यो बैंकमा स्ट्याण्डर्ड चार्टर्ड समूहको करिब ७५ प्रतिशत लगानी छ । यसको अर्थ उनीहरुले एफपीओबाट सञ्चितकोषमा जम्मा भएको २ अर्ब बढी रकम जुनसुकै बेला यो वा त्यो बाहानामा विदेश लैजान सक्नेछन् । यसका लागि नगद लाभांश र बोनस सेयरको लोभ समेत बाँडिने देखिन्छ । 

मिलेमतोमा यस्तो खेल !
केही दिनअघि तरलताको अभावको समस्या समाधानका लागि भन्दै नेपाल धितोपत्र बोर्डले राति ८ बजे हतार–हतार विज्ञप्ति प्रकाशित गर्दै नेपाल लाइफ इन्स्योरेन्स र फरवार्ड माइक्रो फाइनान्सको एफपीओ तथा आइपीओमा भर्ने नाममा जम्मा भएको रकम बैकिङ प्रणालीमा फर्काउनैका लागि फागुुन १३ गतेभित्र बाँडफाँड सकिसक्न निर्देशन दिएको थियो । यो निर्देशनले बोर्डको प्रशंसा समेत भएको थियो । तर, स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई सार्वजनिक निश्कासनको पाइपलाइनमा रहेका अन्य कम्पनीलाई पाखा लगाई हतारमा एफपीओ निश्कासनको स्वीकृति दिएपछि बोर्डले नेपाल लाइफ र फरवार्डलाई दिएको निर्देशन स्ट्याण्डर्ड चार्टर्डकै स्वार्थबाट प्रेरित थियो कि भन्ने आशंका पैदा भएको छ । कारण, स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा आवेदन फागुन १३ कै आसपासमा खुलाउने तयारी गरिएको छ । यही योजना अनुसार नै २ कम्पनीलाई बाँडफाँड चाँडो सक्ने पत्र पठाएर स्ट्याण्डर्डलाई १८ दिनमै एफपीओ निश्कासनको अनुमति दिने काम भएको बोर्डस्थित स्रोतले बताएको छ । 

यसअघि बोर्डका अधिकारीहरुले घट्दो बजारमा स्ट्याण्डर्ड चार्टर्डले प्रस्ताव गरेको मूल्यमा परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । तर त्यसको २४ घण्टामै पुरानै रेटमा एफपीओ निश्कासनको अनुमति दिनुुले रातारात केही खेल भएको बुुझ्न गाह्रो छैन । 

माघ ११ गते स्ट्याण्डर्ड चार्टर्डले एफपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो । यसले आफैं मूल्य तोकेर पठाएको थियो । त्यसबेला समेत बोर्ड तथा अन्य नियामकलाई जानकारी नदिई मनपरी मूल्य तोकिएको भन्दै यो बैंकमाथि कारबाहीको माग भएको थियो ।

तर बोर्ड र नेप्सेकै योजनामा रातारात दोश्रो प्रष्टीकरण पत्र लेख्न लगाएर स्ट्याण्डर्ड चार्टर्डलाई संभावित कारबाहीबाट बचाइएको थियो । यस्तै प्रकृतिको घटनामा नेपाल लाइफको भने कारोबार नै निलम्बन गरिएको थियो । 

यो बैंकले एफपीओ निश्कासनको अनुमति माग्दै आवेदन दिंदाको अवस्थामा यसको प्रति कित्ता अन्तिम कारोबार मूल्य २१४० रुपैयाँ थियो । एफपीओ स्वीकृत हुँदा सोमबारको बजार मूल्य १८७० प्रति कित्ता छ । आवेदन दिंदाको समय भन्दा स्वीकृत हुँदाको समयमा यो बैंकको प्रति कित्ता सेयर मूल्यमा ३ सय रुपैयाँ घटिसकेको अवस्थामा समेत १२९० प्रति कित्ताकै दरले कसरी एफपीओ स्वीकृत गरियो भन्ने प्रश्न समेत उठेको छ ।

हुन त यो बिषयमा एफपीओ निश्कासनको मापदण्डमा रहेको एउटा अस्पष्ट बुँदालाई बोर्डका अधिकारी र स्वयम् बैंकले समेत अपव्याख्या गर्नसक्छन् । 

बोर्डले बनाएको कार्यविधिमा एफपीओ जारी गर्न आवेदन दिंदा विभिन्न ४ वटा पक्षलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । जसअनुसार पूँजीकृत भएको आम्दानी, प्रतिशेयर खुद सम्पत्तिको मूल्य, १८० दिनको औसत बजार मूल्य, भविष्यमा प्राप्त हुने नगद प्रवाहको बर्तमान मूल्यलाई आधार मानेर एफपीओको मूल्य निर्धारण गर्नुपर्नेछ । बोर्डकाअनुसार तोकिएका चार आधारहरुबाट उपलब्ध भएको मूल्यको सामान्य औसत गणना गरी निर्धारण गर्नुपर्नेछ । यी मापदण्ड मान्ने क्रममा समेत अहिलेको न्यून मूल्यको बिषय पनि समेटिने र एफपीओको निवेदन दिएकाहरुले यो बिषय समेत समेटेर नयाँ ढंगले विश्लेषण गर्नुपर्ने हुन्थ्यो, तर स्ट्याण्डर्डको सवालमा त्यो काम गरिएन । बोर्डले तोकिदिएको कार्यविधिमा १८० दिनको औसत बजार मूल्य भन्ने बुँदामा खेल्ने काम भएको छ । कारण, कुन मितिदेखि १८० दिनको औसत बजार मूल्य भनिएको हो भन्ने कार्यविधिमा प्रष्ट छैन । 

अरुलाई बेवास्ता


कानूनी व्यवस्था साना र ठूला सबैका लागि बराबर हुनुपर्छ । तर बोर्डले स्ट्याण्डर्ड चार्टर्डको हकमा भने त्यस्तो गरेन । ठूलो र विदेशी लगानीको बैंक भएकै कारण सार्वजनिक निश्कासनको आवेदनमा स्ट्याण्डर्ड चार्टर्डलाई मिलाएर एफपीओ निश्कासनको अनुमति दिइयो । लगानीकर्ताहरुको हातमा नेपाल लाइफ र फरवार्डको पैसा फिर्ता भएकै समयमा निश्कासन गर्नसक्ने गरी यो बैंकलाई एफपीओको अनुमति दिइयो । यसरी बोर्डले यो बैंकलाइृ पक्षपोषण गरेको देखिएको छ भने बाँकी अन्य कम्पनीलाई भने बेवास्ता । 

जस्तो, स्ट्याण्डर्ड चार्टर्डकै हाराहारीमा आवेदन दिएको प्रिमियर इन्स्योरेन्सको बिषयमा बोर्डले कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन । यो बिमा कम्पनीले प्रिमियमसहित प्रति कित्ता १ हजार ४ रुपैयाँमा एफपीओ निश्कासनको अनुमति माग्दै माघ १२ गते निवेदन दिएको थियो । स्ट्याण्डर्ड चार्टर्ड भन्दा अगाडि सार्वजनिक निश्कासनका लागि आवेदन दिएका अन्य ९ कम्पनीले कहिले अनुमति पाउने हुन्, सो बिषय समेत अझै टुंगो लाग्न सकेको छैन । तर यी सबै साना कम्पनीलाई पन्छाएर स्ट्याण्डर्ड चार्टर्डलाई चाहि यति हतारोमा एफपीओ निश्कासनको अनुमति किन दिइयो, यो बिषयमा बोर्डले प्रष्ट पार्नुपर्ने देखिन्छ । 

यस्तो छ पछिल्लो बित्तीय अवस्था
सेयर बजारका लागि हटकेक मानिने स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमजोर प्रदर्शन गरेको छ । 

केही वाणिज्य बैंकहरुले खूद नाफा बढाएर अर्ब माथि पुर्याउँदा समेत हटकेक बैंक स्ट्याण्डर्ड चार्टर्डले भने ७४ करोड मात्र कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो बैंकको खूद नाफा ६१ करोड २० लाख थियो । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ५४ रुपैयाँ ४५ पैसा रहेको वार्षिकीकृत प्रति सेयर आम्दानी यो वर्षको सोही अवधिमा घटेर ३९ रुपैयाँ ४८ पैसामा आइपुुगेको छ । प्रतिसेयर आम्दानीमा यो गिरावट चुक्तापूँजीमा भएको वृद्धिले भएको बताइए पनि अन्य सूचक समेत सन्तोषजनक छैनन् । यो बैंकको अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब २४ करोड रुपैयाँ रहेको चुक्तापूँजी गत आर्थिक वर्षको खूद नाफबाट वितरण गरिएको बोनस सेयरका कारण वृद्धि भई हाल ३ अर्ब ७४ करोडको उचाईमा पुुगेको छ । गत वर्षको खूद नाफाबाट यो बैंकले लगानीकर्तालाई ३३.३३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  

यो बैंकले निस्क्रिय कर्जाको अनुुपातलाई भने केही घटाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा ०.४१ प्रतिशत रहेको यस्तो अनुपात घटाएर यो वर्ष सोही अवधिमा ०.२६ प्रतिशतमा झारिएको छ।

बैंकको प्रति सेयर नेटवर्थ समेत घटेको छ । अघिल्लो वर्षको यो अवधिमा प्रति सेयर नेटवर्थ २८३ रुपैयाँ ९२ पैसा रहेकोमा घटेर यो वर्ष २२० रुपैयाँ ३९ पैसामा सीमित रहेको हो । मूूल्य आम्दानी अनुपात समेत बढेको छ । अघिल्लो वर्षको यो अवधिमा ४९.१३ गुणा रहेको यस्तो अनुपात यो वर्ष बढेर ५०.५१ गुणा कायम भएको हो । यति धेरै मूल्य आम्दानी अनुपात हुनु भनेको बित्तीय अवस्था खराब भएको संकेत हो । यस्तो कम्पनीको सेयरमा लगानी गर्नु जोखिमपूर्ण मानिन्छ । मूल्य आम्दानी अनुपात २० गुणा र आसपासमा रहनुुले सम्बद्ध कम्पनीको सेयरमा लगानी गर्नु हितकारी हुने संकेतको रुपमा विश्लेषकहरुले बुुझ्ने गर्छन ।