काठमाण्डौ । पाइला–पाइलाको खर्च र उच्च महङ्गीका कारण प्रताडित राजधानीबासीले भलै नपत्याउलान्, तर राष्ट्रबैंकको दाबी पत्याइदिने हो भने देशमै सबैभन्दा कम मुद्रा स्फिति(मूल्यवृद्धि) काठमाण्डौ उपत्यकामा रहेको छ । राष्ट्रबैंकले चालुु आर्थिक वर्षको प्रथम ६ महिना समीक्षा अवधिको अर्थतन्त्रका सूचकहरुको समीक्षा सार्वजनिक गर्दै शुक्रबार यस्तो दाबी गरेको हो । 

क्षेत्रगत हिसाबमा सबैभन्दा कम मुद्रास्फिति काठमाण्डौमा १.९ प्रतिशत रहेको केन्द्रीय बैंकले दाबी गरेको छ । 

उसका अनुसार सबैभन्दा बढी महंगी चाहि पहाडमा ५.७ प्रतिशत रहेको छ । यो अवधिमा तराईमा २.८ प्रतिशत, हिमालमा ४.२ प्रतिशत महंगी रहेको बताइएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्षको मुद्रास्फितिमा उच्च सुधार आएको राष्ट्रबैंकले दाबी गरेको छ । 

अघिल्लो वर्षको पहिलो ६ महिना समीक्षा अवधिमा काठमाण्डौमा सबैभन्दा बढी १३.८ प्रतिशत मुद्रास्फिति थियो । त्यस्तै, पहाड, तराई र हिमालमा क्रमशः १२.१, १०.७ र १०.० प्रतिशत रहेको थियो । 

निकै लामो समयपछि नेपाल र भारतको समग्र उपभोक्ता मुद्रास्फिति एउटै अंकमा आइपुुगेको छ । ६ महिनाको अवधिमा नेपालको समग्रमा उपभोक्ता मुद्रास्फिति ३.२ कायम भएको हो । यसरी, नेपाल र भारतमा उपभोग्य बस्तुको मूल्यवृद्धि अन्तर शून्यमा झरेको हो । 

अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्म समग्र उपभोक्ता मुद्रास्फिति १२.१ प्रतिशतको उच्च विन्दूमा थियो । 

गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा भएको सुधार, भारतमा समेत उपभोक्ता मुद्रास्फिति घट्दै गएका कारण पछिल्ला महिनाहरुमा नेपालमा समेत मुद्रास्फिति निरन्तर घटिरहेको केन्द्रीय बैंकले दाबी गरेको छ । 

यस्तो छ खाद्य मुद्रास्फितिको अवस्था


समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.७ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १५.२ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतकोघ्यू तथा तेलको मूल्यमा १३.९ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६.६ प्रतिशत, तरकारीको मूल्यमा ३.९ प्रतिशत, फलफूलको मूल्यमा २.० प्रतिशत, मासु तथा माछाको मूल्यमा १.७ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १.२ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.२ प्रतिशतले वृद्धि भएको छ ।

गैरखाद्य मुद्रास्फिति
समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.२ प्रतिशत रहेकोछ । अघिल्लोवर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ९.७ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

थोक मुद्रास्फीति
समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क २.० प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.८ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क १२.२ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६.४ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.३ प्रतिशतले घटेको थियो ।

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर


२०७३ पुस महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२ प्रतिशत रहेकोमा नेपालको मुद्रास्फीति पनि ३.२ प्रतिशत नै रहेको छ । समीक्षा अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर शुन्य रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः १२.१ प्रतिशत र ५.७ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ६.४ प्रतिशत रहेको थियो ।