काठमाण्डौ । केही विकास बैंकहरुलाई अक्वायरको प्रक्रियामा रहेको कुमारी बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई सार्वजनिक गरेको डबल अफर कार्यान्वयनमा ल्याउन बुक क्लोज र वार्षिक साधारणसभाको मिति तोकेको छ । 

बैंकले आफ्नो १६ औं वार्षिक साधारणसभा आगामी चैत ९ गते तोेकेको हो । उसले साधारणसभाका विशेष प्रस्तावहरु समेत सार्वजनिक गरेको छ । 

वार्षिक साधारणसभामा बैंकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव लैजानेछ । 

यस्तै, काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स कम्पनी, महाकाली विकास बैंक र काक्रेबिहार विकास बैंकसँगको मर्जरको प्रस्ताव तथा ती संस्थासँग कायम सेयर स्वाप रेसियोको बिषयमा तयार डिडिए रिपोर्टलाई समेत पारित गराउने प्रस्ताव साधारणसभामा पेश हुँदैछ । 

कुमारी बैंकले यी चारवटै संस्थालाई १०० बराबर ८५ को सेयर स्वाप अनुपातमा आफूमा गाभ्ने यसअघि निर्णय गरेको छ । यो बिषय पनि विशेष प्रस्तावमा रुपमा साधारणसभामा पेश हुँदैछ । 

कुमारी बैंकले हालै २ बराबर १ को अनुपात अर्थात ५० प्रतिशतको दरले हकप्रद निश्कासनको स्वीकृति पाएको छ । यसको अर्थ उसले वार्षिक साधारणसभामा १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १ सय ६५ रुपैयाँ मूल्य बराबरको हकप्रद निश्कासनको प्रस्ताव पनि पेश गर्नेछ । 

बैंकले बोनस तथा हकप्रद सेयरका लागि बुक क्लोजको मिति समेत आइतबार एक सूचनामार्फत तोकेको छ । बुक क्लोजको मिति आगामी फागुन २० गते तोकिएको छ । यसको अर्थ फागुन १९ गतेसम्म कुमारी बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले घोषित बोनस तथा हकप्रद सेयरको हकदार बन्न पाउनेछन् । चैत ९ गतेसम्म सेयर दर्ताकिताब बन्द हुनेछ । 

कुमारी बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २७ करोड ९३ लाख खूद नाफा आर्जन गरेको छ । हाल यो बंैकको चुक्तापूँजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । २१ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद निश्कासनपछि कुमारी बैंकको चुक्तापूँजी ४ अर्ब ६१ करोडको उचाईमा पुुग्नेछ ।