काठमाण्डौ । एफपीओ र आइपीओको पट्यारलाग्दो व्यवस्था र सेयर नपर्ने झञ्झटबाट दिक्क भएका लगानीकर्ताहरुले लगानी बढाउँदा सोमबार पनि बजार बढेको छ । 

एफपीओ र आइपीओमा लाइन बसेर निवेदन दिंदा पनि सेयर नपर्ने र पर्दा समेत थोरै कित्ता मात्र पर्ने भएपछि लामो समयसम्म त्यस्ता निश्कासनमा पैसा फ्रिज राख्नुुभन्दा सेयर बजारमा बुद्धि पुुर्याएर लगानी गर्दा फाइदा हुने ठानेका लगानीकर्ताका कारण बजार बढेको हो । 

थोरै भए पनि परिसूचक बढेको र कारोबार रकमले फड्को मारेकोले बजार स्थिर हुँदै गएको मान्न सकिने स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्याल दाबी गर्छन् । 

बजार परिसूचक(इण्डेक्स) ४.०७ अंक बढेर १३५८.४१ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकममा पनि उछाल देखिएको छ । कुल कारोबार रकम ७४ करोड ७३ लाखको विन्दूमा पुुगेको छ । सोमबार साढे १५ महिनापछि सेयर कारोबार खुलेको एनसीसी बैंकले मात्रै ९ करोड बढीको कारोबार गर्यो । तीनवटा वाणिज्य बैंकले मात्र ३० करोडको हाराहारीमा कारोबार गरे । वाणिज्य बैंक समूहले ४५ करोड २२ लाख बढीको कारोबार गर्यो । 

बित्त र बिमा बाहेक सोमबार सबै समूहको सूचक हराभरा भए । बढेका सूचकहरु पनि झिनो अंकले मात्र उकालो लागे । वाणिज्य बैंक समूह ४.९९, होटल समूह ९.४४, विकास बैंक १.४८, जलविद्युत समूह ६.७३, उत्पादनमूलक ०.३२ र अन्य समूह ५.७८ अंकले बढेको छ । बित्त समूहमा २.१८ र बिमा समूहमा ३.५२ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार सबैभन्दा बढी एनबी बैंकले ११ करोड ५५ लाख बढीको कारोबार गर्यो । ग्लोबल आइएमई बैंकले ९ करोड २६ लाख, एनसीसी बैंकले ९ करोड २३ लाख बढीको कारोबार गरे । नेशनल लाइफ इन्स्योरेन्सले ४ करोड ४५ लाख, नेपाल लाइफले २ करोड ९८ लाख, शिखर इन्स्योरेन्सले २ करोड ५७ लाख, प्रभू बैंकले १ करोड ६५ लाख, सिटिजन्स बैंकले १ करोड ६१ लाख बढीको कारोबार गरे । सोमबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थानमा वाणिज्य बैंक र ४ स्थानमा बिमा कम्पनीको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, आरएसडिसी लघुवित्त र सेती फाइनान्सको सेयर मूल्य क्रमशः ७.८९ र ७.५० प्रतिशतले वृद्धि भयो । 

यो दिन सिन्धुु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७.६९ प्रतिशतले घट्यो ।