काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक एक अंकले बढे पनि बजार हराभरा भएको छ । कारोबार रकम चाहि अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा करिब १६ करोड घटेको छ । 

सोमबार बजारमा सेयर खरीदको चापमा सामान्य वृद्धि देखिएको छ । तर मंगलबारदेखि भने बजार के हुने भन्ने अन्यौल धेरै लगानीकर्तामा व्याप्त छ । मंगलबारदेखि मार्केट मेकरको रुपमा चिनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ निश्कासन हुँदैछ, यदि लगानीकर्ताले एफपीओतर्फ ध्यान दिए भने नेपाल लाइफ र फरवार्डको एफपीओ आइपीओका कारण लामो समयदेखि फ्रिज भई हातमा परेको रकम त्यसतर्फ जानेछ, यसले बजारमा सेयर खरीदको चापलाई घटाउनेछ । त्यति मात्र होइन, बैंकहरुमा अझै पनि तरलता अभावको अवस्था सहज नभइसकेकोले र त्यहाँबाट सेयर धितोकर्जा सहज रुपमा नपाइने अवस्था ज्यूूका त्यूू रहेकाले दोश्रो बजार छाडेर हातमा बल्लतल्ल आएको रकम एफपीओमा खन्याए यो कदम लगानीकर्ताका लागि आत्माघाती बन्नसक्छ । ब्राण्डेड कम्पनीको ब्राण्डेड नाम मात्र हेरेर नहुने र स्ट्याण्डर्ड चार्टर्डका अधिकांश बित्तीय सूचकहरु कमजोर रहेकाले यसको प्रति कित्ता एफपीओमा १२ सय ९० रुपैयाँ हाल्नुु भन्दा बरु लिलाममा राखिएका राम्रा कम्पनीका सेयर सस्तोमा उठाउनुु ठीक हुने विश्लेषक बताउँछन् । 

लगानीकर्ताले यो पटक कत्तिको बुद्धि पुर्याउने हुन् या आफ्नो खुट्टामा आफैं बञ्चरो हान्ने हुन् त्यसले अबका केही दिनको बजारको भविष्य तथा गति निर्धारण गर्ने देखिन्छ । 

सोमबारको बजार
सोमबार अन्य समूहमा २.८९ को झिनो गिरावट आए पनि बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । बिमा समूह सबैभन्दा धेरै १०९.०८ अंकले बढेको छ भने वाणिज्य बैंक, विकास बैंक र बित्त समूहमा क्रमशः ६.३८, ६.३३ र ०.५७ अंकको बढोत्तरी देखिएको छ । यस्तै, होटल, जलविद्युत र उत्पादनमूलक क्रमशः ५.४, ६.७५ र ६.०५ अंकले बढेका छन् । 

''क'' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.६८ अंकले बढेको छ भने फ्लोट इण्डेक्समा ०.५१ अंकको बढोत्तरी देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार १ सय ३२ कम्पनीका ७ लाख ६ हजार २ सय ६५ कित्ता सेयर ३५ करोड ८५ लाख बढीमा किनबेच भए । सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको ७ करोड ४१ लाखको कारोबार भयो । एनसीसी बैंकको १ करोड ९५ लाखको सेयर किनबेच भएको बजारमा नेपाल लाइफले १ करोड ८८ लाखको कारोबार गर्यो भने नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८० लाख बढीको संस्थापक सेयरको समेत किनबेच भयो । सोमबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थानमा वाणिज्य बैंक र बाँकी ४ स्थानमा बिमा कम्पनीको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
तीन कम्पनीले पैसा छापे । आरएसडिसी लघुवित्त, नयाँ नेपाल लघुवित्त विकास बैंक र मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ता मालामाल भएका हुुन् । यी तीनवटै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । अपी पावर कम्पनीको सेयर मूल्य ७.४१ प्रतिशतले बढ्यो । 

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले सबैभन्दा बढी गुमायो । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, अरुण फाइनान्स र कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ३.७० र ३.५७ प्रतिशतले घटे ।