काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत १ गतेदेखि खुलाएको सेयरको अतिरिक्त निश्कासन(एफपीओ)को अहिले सर्वत्र चर्चा छ । दोश्रो बजार जोखिमयुक्त अवस्थाबाट गुज्रिरहेको, तरलता अभावको समस्यामा बजार तथा सिंगो अर्थतन्त्र जेलिएको तथा यिनै कारणले सर्वसाधारण लगानीकर्ताले सेयर बजारबाट करोडौं गुमाइरहेको अवस्थामा आएको एफपीओ भर्ने कि नभर्ने भन्ने अन्यौल छाएको छ । कतिपय लगानीकर्ता साथमा पैसा नहुँदा पनि ब्राण्ड मात्रै हेरेर साथीभाईसँग सरसापट गर्नेतर्फ लागेका छन् भने कतिपय चाहि दोश्रो बजारमै बरु राम्रो कम्पनीको सेयर घटेको बेला त्यसमै लगानी गर्ने, ब्राण्डको पछि लागेर स्ट्याण्डर्डमा पैसा हालेर जानाजान नडूूब्ने भनिरहेका छन् । एफपीओमा आवेदनको समय सुरु हुन १२ घण्टा अगाडिसम्म पनि धेरै लगानीकर्तामा द्विविधा देखिएको छ । आखिर स्ट्याण्डर्ड चार्टर्डको एफपीओ भर्ने कि नभर्ने ? के गरे लगानीकर्तालाई फाइदा होला ?

स्ट्याण्डर्ड चार्टर्ड समूहको लगानी रहेको बैंकको ब्राण्ड निकै बिकाउ छ । कतिपयले ब्राण्डकै लागि समेत मरिहत्ते गरेर प्रति कित्ता १२ सय ९० रुपैयाँ पैसा हाल्न सक्छन् । एफपीओमा आवेदन खुल्नुु भन्दा ठीक अघिल्लो दिन सोमबार स्ट्याण्डर्ड चार्टर्ड २ हजार रुपैयाँमा कारोबार भएको छ । २ हजारमा कारोबार भएको र आगामी दिनमा बजार तल झर्यो भने मूल्य अझ घट्ने जोखिम रहेको सेयरलाई एफपीओको रुपमा १२ सय ९० हाल्ने कि नहाल्ने ? भन्ने अन्यौल हुनुु स्वभाविक देखिन्छ । कुनै पनि कम्पनीको एफपीओ, आइपीओ, लिलाममा राखिएको सेयर वा साधारण सेयर खरीद गर्नुअघि सो कम्पनीको प्रमुख सूचकहरु अध्ययन गरी सोही आधारमा लगानीकर्ताले निर्णय लिए मात्र पनि काफी हुन्छ । यसर्थ, स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा लगानीको कुनै निर्णय लिनुुअघि यसको बित्तीय अवस्था तथा कम्तीमा केही वर्षअघिदेखिको प्रगति वा अवन्नतिका विवरणहरु हेर्नु भुुल्नुु हुँदैन । लगानी गर्ने या नगर्ने भन्ने तपाईको अधिकार हो, तर लगानी गर्दा सचेत हुनुपर्छ भन्नुु चाहि हाम्रो कर्तव्य हो । 

कस्ता छन् सूचक ?
यो बैंकको सम्पत्तिमा प्रतिफल घट्दो छ । करिब १.९८ प्रतिशतले सम्पत्तिमा प्रतिफल घट्दो देखिन्छ । सन् २०१२ मा ३० प्रतिशत रहेको नेटवर्थमा प्रतिफल घटेर १९ प्रतिशतमा झरिसकेको छ । सोही वर्ष ३.७९ प्रतिशत रहेको खूद ब्याज मार्जिन घटेर अहिले २.८६ प्रतिशतमा आइपुुगेको छ । यस अलावा बैंकको निक्षेपको वृद्धि निकै धिमा गतिको छ । यो बैंकले निक्षेपकर्ता आकर्षित गर्न नसक्दा वा निक्षेपकर्ताले यो बैंकमा पैसा राख्दा सुरक्षित हुन्छ भन्ने अनुुभूत गर्न नसक्दा यस्तो अवस्था भएको हुनसक्छ । कर्जा परिचालनतर्फ पनि यो बैंकको सन्तोषजनक प्रगति छैन । खूद नाफा त यो बैंकको आर्थिक वर्ष २०७०/७१ देखि नै निरन्तर घटिरहेको छ । जस्तो, सो वर्ष १ सय ३३ करोड खूद नाफा कमाएको यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ सय २६ करोड मात्र कमाउन सक्यो । 

यो बैंक शाखा सञ्जालको मामलामा पनि निकै कमजोर छ । हालसम्म यति प्रतिष्ठित बैंक भएर समेत यसको देशभर शाखा सञ्जाल १२ वटा मात्र छ । 

यसको प्रतिसेयर आम्दानी पनि वर्षेनी घटिरहेको छ । आर्थिक वर्ष २०७०/७१ मा ६५ रुपैयाँ ४७ पैसाको उचाईमा रहेको प्रति सेयर आम्दानी आर्थिक वर्ष २०७२/७३ मा आइपुुग्दा घटेर ४५ रुपैयाँ ९६ पैसा कायम भएको छ । कुनै पनि कम्पनीको प्रमुख बित्तीय सूचकमध्येको एक मूल्य-आम्दानी अनुपात(पीइ रेसियो)तर्फ त यो बैंकको डरलाग्दो अवस्था छ । कुनै पनि बैंक तथा बित्तीय संस्थाको पीई रेसियो २० गुणाको हाराहारीमा हुनुुलाई उचित मानिन्छ । त्यसभन्दा बढी पीई रेसियो हुनुु भनेको त्यो कम्पनी जोखिमपूर्ण छ भन्ने हो । यो कोणबाट हेर्दा स्ट्याण्डर्ड चार्टर्डको भविष्य जोखिममा छ भन्न मिल्छ । कारण आर्थिक वर्ष २०७०/७१ मा ३३.७४ गुणा रहेको यस्तो अनुपात आर्थिक वर्ष २०७२/७३ मा बढेर ८०.०१ गुणाको उचाईमा पुुगेको छ । यति धेरै मूल्य-आम्दानी अनुपात भएको संस्थामा लगानी नगरेकै राम्रो हुन्छ । 

यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा समेत सन्तोषजनक प्रगति गरेको छैन । धेरै प्रमुख सूचकहरु जारी आर्थिक वर्षको अन्तसम्ममा अझ ओरालो लाग्ने प्रशस्त संकेतहरु देखिएका छन् । यसकारण पनि धेरैले स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा लगानी गर्नुहुँदैन भन्ने निश्कर्ष निकालेका हुनसक्छन् । 

तर, यसो भनेर स्ट्याण्डर्ड चार्टर्डका राम्रा पक्ष चाहि छँदै छैनन् भन्ने पनि होइन । यो बैंकको राम्रो पक्ष यसको अन्तराष्ट्रिय ब्राण्ड पनि हो । यो बैंकमा विश्व प्रसिद्ध स्ट्याण्डर्ड चार्टर्ड समूहको ७५ प्रतिशत लगानी रहेको छ । यो बैंकको पूँजीगत लागत १ प्रतिशत मात्रै छ, यो राम्रो पक्ष हो । बैंकको समग्र वृद्धिदर २४ प्रतिशत रहेको छ भने खराब कर्जाको दर ०.३१ प्रतिशत रहेको छ । बचत र चल्ती निक्षेपको हिस्सा ७५ प्रतिशत रहेको छ, यसलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ । अर्कोतर्फ, बैंकको स्वस्थ्य सम्पत्ति अन्य बैंकको तुलनामा धेरै छ । 

भर्नै परे यी ठाउँबाट आवेदन दिने
तपाईलाई नकारात्मक पक्ष भन्दा सकारात्मक पक्षप्रति बढी भरोसा छ र यो बैंकले भोलिका दिनमा राम्रो प्रदर्शन गर्नसक्छ भन्ने लाग्छ भने आवेदन दिन सक्नुुहुन्छ । त्यसका लागि एफपीओको बिक्री प्रबन्धकले तोकेका आवेदक संकलन केन्द्रमा पुुगेर आवेदन दिनसकिन्छ । स्ट्याण्डर्ड चार्टर्डको एफपीओका लागि तोकिएका आवेदक केन्द्रको सूचि यसप्रकार छ :

१.एनएमबी क्यापिटल लिमीटे, नागपोखरी काठमाण्डौ । 
२.स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, शाखा कार्यालय बानेश्वर र लाजिम्पाट । 
३.आस्वा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका शाखा कार्यालयहरु । 
४.एनएमबी बैंकका देशभरका शाखा कार्यालयहरु । 
५.प्रभूू क्यापिटल लिमीटेड, कमलादि काठमाण्डौ । 
६.काठमाण्डौ क्यापिटल मार्केट लिमीटेड, कमलादि काठमाण्डौ । 
७.लक्ष्मी क्यापिटल मार्केट लिमीटेड, नयाँबानेश्वर काठमाण्डौ । 
८.सिबिआइएल क्यापिटल लिमीटेड, डिल्लीबजार काठमाण्डौ । 
९.भिबोर क्यापिटल लिमीटेड, कृष्णगल्ली ललितपुर । 
१०.ग्लोबल आइएमई क्यापिटल लिमीटेड, जमल काठमाण्डौ । 
११.एस क्यापिटल लिमीटेड, लालदरबार काठमाण्डौ । 
१२.सिभिल क्यापिटल मार्केट लिमीटेड, कमलादि । 
१३.एनआइबिएल क्यापिटल मार्केट लिमीटेड, लाजिम्पाट । 
१४.कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमीटेड, बाघदरबार, काठमाण्डौ । 
१५.नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमीटेड, हात्तीसार काठमाण्डौ । 
१६.एनसिएम मर्चेन्ट बैकिंग लिमीटेड, कमलपोखरी, काठमाण्डौ । 
१७.गुडविल फाइनान्स लिमीटेडका देशभरका शाखा कार्यालयहरु । 
१८.सेन्टल फाइनान्स लिमीटेड, कुपण्डोल तथा सबै शाखा कार्यालयहरु । 
१९.सगरमाथा फाइनान्स लिमीटेड, मानभवन, ललितपुर । 
२०.गोर्खाज् फाइनान्स लिमीटेड डिल्लीबजार, तथा देशभरका शाखा कार्यालयहरु । 
२१.आइसीएफसी फाइनान्स लिमीटेड, भाटभटेनी काठमाण्डौ तथा सबै शाखा कार्यालयहरु । 
२२.लुम्बिनी फाइनान्स एण्ड लिजिंग कम्पनी लिमीटेड ठमेल तथा सबै शाखा कार्यालयहरु। 
२३.भार्गव विकास बैंक, सुर्खेत रोड नेपालगञ्ज । 
२४.सप्तकोशी डेभलपमेन्ट बैंक लिमीटेड विराटनगर, तथा शाखा कार्यालयहरु इलाम र फिदिम ।