काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंगलबारदेखि खुलाएको एफपीओ भर्नलाई बिक्री प्रबन्धकले पहिलो दिन नै २ लाख ५० हजार भन्दा बढी आवेदन फारम वितरण गर्नुपरेको छ । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका सीइओ श्रीजेश घिमिरेका अनुसार परम्परागत शैलीमा देशभर तोकिएका आवेदन केन्द्रहरुबाट २ लाख ५० हजार बढी आवेदन माग भएको हो । पहिलो दिन माग भएको फारम अनुसार नै आवेदन पर्ने हो भने स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको मान्न सकिने उनको भनाई छ । ‘तर आवेदन नै कति पर्यो भन्ने बिषयमा चाहि अहिले नै केही भन्ने सकिने तथ्य हामीसँग छैन ।’ उनले भने–‘बुधबार बिहानसम्म कति आवेदन पर्यो भन्ने एकखालको तथ्यांक आउनसक्ला ।’

आस्वा प्रणालीबाट एफपीओमा आवेदन दिनेहरुको तथ्यांक भने चैत ४ गतेपछि मात्रै आउनेछ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रिमियम मूल्यसहित प्रति कित्ता १२ सय ९० को दरले मंगलबारदेखि २५ लाख ५८ हजार कित्ता एफपीओ निश्कासन गरेको छ । यो बैंकका प्रमुख आर्थिक सूचकहरु पछिल्ला वर्षहरुमा कमजोर बन्दै गएका तथ्यसहित विभिन्न संचारमाध्यमबाट लगानीकर्तालाई सचेत गराउँदा समेत अन्तराष्ट्रिय ब्राण्डकै लागि कतिपयले मरिहत्ते गरेका देखिएको छ । स्ट्याण्डर्ड चार्टर्ड समूह अन्तराष्ट्रिय क्षेत्रमै ब्राण्डेड नाम हो ।