काठमाण्डौ । मार्केट मेकरको रुपमा चिनिएको अन्तराष्ट्रिय ब्राण्ड स्ट्याण्डर्ड चार्टर्ड समूहको लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले खुलाएको एफपीओको दोश्रो दिन पनि उत्साहजनक रहेन । यो बैंकको एफपीओमा दोश्रो दिन बुधबार देशभरबाट १९ हजार ८ सय(परम्परागत र आस्वासहित)ले २ अर्ब ६५ करोड बराबरको मात्र आवेदन दिएका छन् । 

ब्राण्डको हिसाबले यो बैंकको एफपीओमा नेपाल लाइफको भन्दा उत्साहजनक आवेदन पर्ने अपेक्षाका बीच दोश्रो दिनले समेत झूर प्रदर्शन गर्यो । 

प्रतिष्ठित बैंकको एफपीओमा दोश्रो दिनमा परेको आवेदन यसअघिका केही ‘क’ वर्गका कम्पनीहरुको तुलनामा उत्साहजनक होइन । यसअघि एफपीओ निश्कासन गरेको नेपाल लाइफमा दोश्रो दिन देशभरबाट ३५ हजारले करिब ५ अर्ब बराबरको आवेदन हालेका थिए । यो तुलनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा न्यून आवेदन परेको मान्न सकिन्छ । ब्राण्डको हिसाबले यो बैंकको एफपीओमा नेपाल लाइफको भन्दा उत्साहजनक आवेदन पर्ने अपेक्षाका बीच दोश्रो दिनले समेत झूर प्रदर्शन गर्यो । तेश्रो र चौथो दिन अझै बाँकी रहेकोले यी २ दिनमा अझ धेरै आवेदन पर्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अधिकारीहरुले अनुमान गरेका छन् । 

स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा दोश्रो दिनसम्म करिब ३ अर्ब ५८ करोडको आवेदन परेको छ । देशभरबाट आस्वा र परम्परागत प्रणालीबाट गरी दोश्रो दिनसम्म कुल २८ हजार ९ सय आवेदन परेका छन् । 

नेपाल लाइफको एफपीओमा भने दोश्रो दिनसम्म नै ५६ हजार बढी आवेदन परेका थिए । आवेदन संख्याको हिसाबले समेत स्ट्याण्डर्ड चार्टर्डको प्रदर्शन झूर देखिएको छ । 

यो बैंकको एफपीओमा पहिलो दिन मंगलबार ९२ करोड ९६ लाख बराबरको आवेदन परेको थियो । अन्तराष्ट्रिय ब्राण्डको यो बैंकले एकसय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२ सय ९० रुपैयाँमा एफपीओ निश्कासन गरेको हो । 

कुल २५ लाख ५८ हजार १ सय ४० कित्ताका लागि ३ अर्ब ३० करोडको आवेदन मागिएकोमा दोश्रो दिनमा मात्रै माग भन्दा केही बढी आवेदन परेको हो । 

एफपीओमा देखिएको यो सुस्तताले धेरै लगानीकर्ता यो बैंकको एफपीओ भर्न खासै इच्छुक छैनन् भन्ने देखाउँछ । यो बैंकको एफपीओमा लगानी गर्नु जोखिमपूर्ण रहेको कुरा बुुझेका लगानीकर्ताहरु मौन बस्दा एफपीओले यति खराब प्रदर्शन गरेको हो ।