काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्र दुई दलले मात्र ७ सय ४४ वटै गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दिन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ती दुई दलले मात्रै स्थानीय निर्वाचन प्रयोजनका लागि ७५ वटै जिल्लामा दल दर्ता गराएको छ ।

संसदको सबभन्दा ठूलो दल कांग्रेस भने त्यसबाट वञ्चित भएको छ । आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि जिल्लागत रूपमा दल दर्ताका लागि दिएको समयभित्र कांग्रेसले ७४ जिल्लामा मात्रै दल दर्ता गराएको छ । आयोगको राजनीतिक दलसम्बन्ध शाखाका अनुसार कांग्रेसले डोल्पा जिल्लामा दल दर्ता गरेको छैन । चौथो ठूलो दल राप्रपाले ६४ जिल्लामा मात्र चुनावमा उम्मेदवारी दिन पाउने भएको छ । उसले ९ जिल्लामा चुनावका लागि दल दर्ता गर्न छुटाएको छ ।

आयोग स्रोतका अनुसार कांग्रेसको डोल्पा जिल्ला कार्यसमिति माघ २१ मा मात्रै निर्वाचन कार्यालयमा दल दर्ताका लागि पुगेपछि अस्वीकार गरिएको हो । निर्वाचन आयोगमा दर्ता रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि पुनस् दल दर्ता गराउनुपर्ने संवैधानिक प्रावधान छ । आयोगमा १ सय १३ राजनीतिक दल दर्ता रहेकोमा संविधानको धारा २७१ अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दलले मात्र दल दर्ता गराएका छन् ।

नयाँ शक्ति पार्टी नेपालले पनि ७४ जिल्लामा दल दर्ता गराएको छ । उसले छुटाएको जिल्ला पाल्पा हो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ४८ जिल्लामा दल दर्ता गराएको छ । मधेसी दलहरूमध्ये लोकतान्त्रिकले मात्रै तराईका २० वटै जिल्लामा दल दर्ता गराएको छ । मधेसी मोर्चामा आबद्ध ७ दलले पहाडी र हिमाली जिल्लामा दल दर्ता गराएका छन् भने तराईकै जिल्ला छुटाएका छन् । संघीय समाजवादी फोरमले चितवन छुटाएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीले सप्तरी, दाङ र बाँकेमा दल दर्ता छुटाएको छ । जबकि उसले कुल २२ स्थानमा दल दर्ता गराएको छ । त्यस्तै, सद्भावना पार्टीले पनि धनुषा छुटाएको छ । आयोगका अनुसार सद्भावनाले २३ जिल्लामा दल दर्ता गराएको छ ।

कालिकोटसहित १५ जिल्लामा दल दर्ता गराएको तराई मधेस सद्भावना पार्टीले आफ्नो अध्यक्ष महेन्द्र रायको गृहजिल्ला सर्लाहीमा दल दर्ता गराएको छैन । राष्ट्रिय मधेस सद्भावना पार्टीले तराईको बाँके, बर्दिया, नेपाल सद्भावना पार्टीले सुनसरी, चितवन र दाङ छुटाएको छ । मधेसी जनअधिकार फोरम गणतान्त्रिक तराईको १० जिल्लामा मात्र दर्ता छ । चर्चामा नरहेको पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नेपालले ७० र जनसमाजवादी पार्टी नेपालले ५३ जिल्लामा दल दर्ता गराएका छन् । आयोगको राजनीतिक दलसम्बन्ध शाखाका अनुसार मजदुर किसान पार्टी ३० जिल्लामा दर्ता छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।