काठमाण्डौ । विश्वमै चर्चित क्याडबरी चकलेट कम्पनीको यूके प्रमुख ग्लेन क्याटनले ब्रेग्जिटका कारण उनको कम्पनीको चकलेटको आकार छोटो हुनसक्ने बताएका छन् । 

उनले गार्जियनसँग यदि क्याडबरीको हाल बजारमा आउने गरेको चकलेटको लम्बाई छोटो पारिएन भने यसको मूल्यमा भारि वृद्धि हुने प्रवल संभावना रहेको बताएका छन् । 

बेलायत यूरोपियन युनियनबाट औपचारिक रुपमा अलग भए पनि कम्पनीले बेलायत नछाड्ने र चकलेट निर्माणमा विश्वकै केन्द्रको रुपमा देशको प्रतिष्ठा कायम राखिरहने समेत ग्लेनले बताएका छन् । 

लागत बढ्ने भएपछि क्याडबरीको गुणस्तरमा कुनै सम्झौता नगर्ने, बरु क्याडबरीको बार केही छोटो बनाइने वा मूल्य बढाइने उनले बताएका छन् । 

यो कम्पनीको स्थापना बर्मिगममा भएको थियो र हाल क्याडबरी उत्पादनमाथि मन्डेलेज इन्टरनेशनलको स्वामित्व छ । मण्डेलेज अमेरिकाको चर्चित कम्पनी क्राफ्टको एक शाखा हो । उसले क्याडबरीलाई सन् २०१० मा खरीद गरेको थियो ।