काठमाण्डौ । प्रतिव्यक्ति हजार र पाँच सयका २५ हजारसम्म भारतीय रुपैयाँ साट्न नेपाली पक्षले पटकपटक राखेको अडान लत्याउँदै भारतीय पक्षले ४५ सयसम्मका यस्ता नोट मात्र साटिदिने प्रस्ताव राखेको छ। 

नेपाली पक्षले भने नोटबन्दीअघि एकजना नेपालीले २५ हजारसम्म भारतीय नोट बोक्न वैध रहेकाले त्यतिसम्म रकम साट्न दिनुपर्ने अडान राखेको छ। 

आइतबारको बैठकमा नेपाली पक्ष कमजोर रूपमा प्रस्तुत भएको आरोप केही सहभागीले लगाएका छन्। आइतबार नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई) को टोलीबीच भएको छलफलमा नेपालको अडान लत्याउँदै आरबीआईले हजार र पाँच सयका चार हजार पाँच सय मात्र भारु साट्ने प्रस्ताव अघि सारेको हो। 

भारत सरकारले कात्तिक २४ देखि पाँच सय र एक हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको हो। भारतीय पक्षले के आधारमा हजार र पाँच सय दरका ४५ सय रुपैयाँ मात्र साट्न पाउने प्रस्ताव राखेको भन्ने खुलाएको छैन। 

४५ सय रुपैयाँ मात्र एक सातामै साट्नुपर्ने समयसीमासमेत भारतीय पक्षले राखेको थियो। नेपाल राष्ट्र बैंकले भने नेपाली नागरिकले वैधानिक ढंगले बोक्न पाउने २५ हजार भारु नै साट्नुपर्ने अडान राखेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए। 

'हाम्रो माग वैधानिकअनुसार प्रत्येक नेपालीले बोक्न पाउने २५ हजार भारु साटिनुपर्नेमा नै हो', उनले भने, 'छलफल जारी छ। सायद भोलि टुंगोमा पुगिन्छ होला।' नेपालमा हजार र पाँच सयका नोटमा प्रतिबन्ध रहे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला पाँच सय र हजार दरका भारुको प्रतिबन्ध खुला भएको थियो। 

प्रत्येक नेपालीले २५ हजारसम्म भारु बोक्न पाउने व्यवस्थासमेत त्यसबेलै भएको हो। उक्त छलफल सोमबार पनि चल्नेछ। आरबीआईकी कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशी नेतृत्व टोलीसँग राष्ट्र बैंकले भारु सटहीबारे छलफल गरेको हो। 

भारतीय पक्षले नेपाली बैंकहरूमा भएको भारु भने तत्कालै साटिदिने बताएको छ। नेपालको वित्तीय च्यानलमा पौने चार करोड प्रतिबन्धित नोट छ। उद्यमी, व्यवसायी र सर्वसाधारणसँग भने करिब १० अर्ब भारु रहेको अनुमान छ। 

नेपाली पक्षले सोमबारको बैठकमा वैधानिक रूपमा प्रत्येक व्यक्तिले राख्न पाउने २५ हजार नै साट्नुपर्ने अडान राख्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए। 'वैधानिक रूपमा राखिएको नोट साटिनुपर्छ', उनले भने, 'यसमा भारत सरकारले अलमल गर्न मिल्दैन।' 

भारत सरकारले नेपालमा रहेका पाँच सय र हजार दरका भारतीय रुपैयाँ साट्ने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेको थियो भने नेपालले पनि यस्तै टोली बनाएर भारतसँग प्रतिबन्धित नोट साट्ने सम्बन्धमा पटकपटक छलफल गरेको थियो। यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।