काठमाण्डौ । सरकारले माइतीघरदेखि  त्रिपुरेश्वरसम्म एक किलोमिटर फ्लाइओभर बनाउन अध्ययन सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एउटा सुरुङ मार्ग र एउटा फ्लाइओभर बनाउने मन्त्रालयका प्रवक्ता राजेन्द्रसाज शर्माले जानकारी दिए।

चीनको सहयोगमा चक्रपथ विस्तार कार्यक्रमअन्तर्गत कलङ्कीमा ‘अन्डरपास’ निर्माण भइरहेको छ।

माइतीघर–त्रिपुरेश्वर एक किमी ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन सुरु गरिएको हो।

सरकारले नमुना योजनाको रुपमा आगामी आर्थिक वर्षमा को नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको योजना अघि सारेको प्रवक्ता शर्माले बताए ।

पूर्वाधार विकासमा सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ महत्वपूर्ण भएकाले दातृ संस्थाकै सहयोगमा काम हुन नसक्ने देखेर सरकारकै स्रोतबाट नमुनाका रुपमा कार्यक्रम अघि सार्न लागिएको उनको भनार्इ छ।

“सय वर्षअघि चुरे पहाड छिचोल्ने ६० मिटरको सुरुङ मार्ग बनेको थियो, त्यो विकास हुन सकेन, अब ढिलै भए पनि सरकारी स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइओभर’ निर्माण सुरु हुन्छ” – उनले भने।

मन्त्रालयले एक हजार २५ किमीको पूर्व–पश्चिम राजमार्ग दुई लेनबाट चार लेनको बनाउन सुरु गरेको छ । पहिलो चरणमा एसियाली विकास बैंकको  २५ अर्ब रुपैयाँ सहयोगमा नारायणघाट–बुटवल खण्डलाई चार लेन बनाउन सुरु भएको हो।