काठमाण्डौ । राप्तिभेरी विकास बैंकले २ सय प्रतिशत हकप्रदको नाममा ठूलो संख्याका लगानीकर्ताहरुलाई जिल्याएको छ । 

साधारणसभाबाटै २ सय प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको यो बैंकले त्यसैको लोभमा लगानी गर्नेहरुलाई जिल्याउँदै ज्योति विकास बैंकसँग मंगलबार प्र्राप्तिको सम्झौता गरेको हो । 

सम्झौतासँगै अब राप्तिभेरीको हकप्रद रद्ध भएको छ । लगानीकर्तालाई थुमथुम्याउन प्राप्ति भएकै दिन राप्तिभेरीको खारेज प्रस्तावित हकप्रद एक्वीजिसनपछि ज्योतिले अहिले प्रस्ताव गरेको हकप्रद परिमार्जन गर्दै निष्काशन गर्ने बताइएको छ । तर ज्योतिले एक्वीजिसनपछि यो मुद्धालाई सम्बोधन गर्ला भनेर पत्याउन सकिने आधार भने छैन । 

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले दाङ, बाँके र बर्दिया जिल्लामा कायक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई १ बराबर १ सेयर स्वाप रेसियोको आधारमा प्राप्तिको मंगलकार सम्झौता गरेको हो । 

ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलादीमा मंगलबार ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा राप्तिभेरी विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष प्रेमबहादुर भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. १ अर्ब १० करोड ४३ लाख रहेको र १ः१ को हकप्रद शेयर जारी प्रक्रियामा छ । 

त्यस्तै राप्तिभेरी विकास बैंकको चुक्तापूँजी रु १४ करोड ३७ लाख रहेको छ भने यस बर्षको मुनाफाबाट बोनस शेयर जारी गर्ने प्रक्रियामा छ । 

राप्तिभेरीको प्राप्तिपछि ज्योति विकास बैंकको कुल चुक्ता पुंजी २ अर्ब ३५ करोड पुग्नेछ भने चालु आर्थिक बर्ष २०७३/२०७४ को मुनाफाबाट वितरण हुने बोनस शेयरपछि ज्योति विकास बैंकको चुक्ता पुंजी रु २ अर्ब ५० करोड नाघ्नेछ । नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तभित्र राष्ट्रिय स्तरको विकास बैंकले चुक्तापूँजी २ अर्ब ५० करोड हुनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार राप्तिभेरीको एक्वीजिसनपछि ज्योतिले सुविधाजनक हिसाबले चुक्तापूँजी पुर्याउने देखिएको छ । 

साथै राप्तिभेरी विकास बैकको प्राप्तिपछि ज्योति विकास बैंकको कुल निक्षेप रकम रु १० अर्ब, कर्जा रकम रु ९ अर्ब नाघ्नेछ भने शाखा सञ्जाल ३४ पुग्नेछ । ज्योति विकास बैंकले यसअघि झिमु्रक विकास बैंकसंग मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार थालिसकेको छ ।