काठमाण्डौ ।  ललितपुरको गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीले किर्ते कागजात बनाएर एक दम्पतीको ऋणभन्दा पाँच गुणा बढी मूल्यको जग्गा जफत गरेको स्वयं नियामक निकाय सहकारी डिभिजन कार्यालय ललितपुरले जानकारी दिएको छ । 

राई दम्पती नारायणप्रसाद र शोभाको ऋण असुल्ने नाममा जग्गा लिलामी गर्ने क्रममा गोरखा सहकारीले डिभिजन कार्यालयमा पेस गरेको डकुमेन्टमै त्रुटि देखिएको प्राप्त कागजातले देखाएको छ ।

कार्यालयका अनुसार संस्था डकुमेन्टेसनमा चुकेको छ । ऋणी राई दम्पतीको जग्गाको मूल्यांकनअघि नै कागजात तयार पारिएको, सेवा शुल्क बढी लिएको, डकुमेन्टमा ठाउँ-ठाउँमा केरमेट गरी सच्याइएकोलगायत त्रुटि देखिएको कार्यालयको ठहर छ । सरकारलाई छल्नकै लागि सहकारीले सक्कल कागजात पेस गर्नुपर्ने अन्य निकायमा समेत कार्बनकपी प्रयोग भएको डकुमेन्ट पेस गरेको देखिएको छ | यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।