काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएसटतर्फको उपाध्यक्ष पदमा आइएमई ग्रुपका अध्यक्ष तथा चर्चित उद्यमी चन्द्र ढकाल निर्विरोध चयन हुने भएका छन् । 

उनीसहित एशोसिएटतर्फका १९ सदस्य समेत निर्विरोध हुने भएका उद्योग वाणिज्य महासंघस्थित स्रोतले जानकारी दिएको छ । 

ढकाललाई चुनावी मैदानमा होमिएका किशोर प्रधान र शेखर गोल्छा समूहले नै समर्थन गरेपछि र उनको प्रत्यासीमा अन्य कसैले उम्मेद्वारी नदिएपछि उनी निर्विरोध उपाध्यक्ष चयन भएका हुन् । अन्य १९ सदस्य समेत निर्विरोध भएका बताइएको छ । एशोसिएटबाट निर्विरोध चयन भएका सदस्यहरुको पूरा विवरण आइसकेको छैन । 

ढकाललाई निर्विरोध बनाउने रणनीति अनुसार नै स्वतन्त्रबाट एशोसिएसट उपाध्यक्षमा उम्मेद्वारी दिने बताउँदै आएका सौरभ ज्योतिले उम्मेद्वारी फिर्ता लिएका छन् । यस्तै, सोमबार उम्मेद्वारी दर्ता गराउने तयारीमा रहेको किशोर प्रधान समूहका एक चुनावी रणनीतिकारका अनुसार एशोसिएसट उपाध्यक्षमा ढकाललाई नै समर्थन गरेर जाने सहमति भइसकेको छ । ''ढकाल जी निर्विरोध बन्ने निश्चित भएको छ ।'' ती अधिकारीले भने-''अब घोषणा हुन मात्र बाँकी हो ।''

गोल्छा प्यानलको उम्मेद्वारी दर्ता
यसैबीच, शेखर गोल्छा प्यानलले आइतबार टेकुुस्थित महासंघ कार्यालयमा रहेको निर्वाचन आयोगमा उम्मेद्वारी दर्ता गराएको छ । आइतबार वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छाले उम्मेद्वारी दर्ता गराएका छन् भने उनको प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेशलाल श्रेष्ठले उम्मेद्वारी दिएका छन् । कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उम्मेद्वारी दर्ता गराएका छन् । 

किशोर प्रधान समूहले आइतबार घोषणासभा गर्ने र सोमबार उम्मेद्वारी दर्ता गराउने कार्यक्रम रहेको छ । 

महासंघको ५१ औं वार्षिक साधारणसभा चैत अन्तिम साता हुँदैछ । महासंघको संसोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकोले सोही पदमा यसपटक भिडन्त हुने भएको हो । हाल वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा अधिवेशनपछि अध्यक्ष हुने र उनको कार्यकाल सकिएपछि अहिले वरिष्ठ उपाध्यक्ष जित्नेले अध्यक्षको बागडोर सम्हाल्नेछ ।