काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्रबैंक र धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । 

प्रभू बैंकमा बिलय भएको ग्राण्ड बैंकको सेयर कारोबारको बिषयलाई लिएर दुई नियामकबीचको द्वन्द्व उत्कर्षमा पुगेको हो । 

दुई नियामक निकायले लगानीकर्ताको हितलाई कम प्राथमिकतामा राखी ‘तँ ठूलो कि म ठूलो’ भन्ने लडाईको मैदानमा उत्रिएर गलत अभ्यास गरिरहँदा र यसले विदेशी लगानीकर्ताको आँखामा गलत सन्देश प्रवाह भइरहँदा समेत सरकार र अर्थमन्त्रालय मौन छन् । 
 

केही दिनअघि मर्जरको एकबर्ष बढी समयपछि बल्लतल्ल नेपाल राष्ट्रबैंकले साबिकको प्रभू बैंकको मात्र सेयर कारोबार खोल्नु भन्ने विवादास्पद निर्देशन दिएपछि नियामकबीच खटपट सुरु भएको थियो । राष्ट्रबैंकको यो निर्णयलाई ‘केटाकेटी पारा’ भन्दै नेपाल धितोपत्र बोर्डले आपत्ति जनाएको थियो । प्रभू बैंकमा बिलय भइसकेको ग्राण्ड बैंकका सयौं सेयरधनीको अहित हुने गरी राष्ट्रबैंकले गलत निर्देशन दिएपछि यसबाट लगानीकर्ता समेत रुष्ट बनेका थिए । ग्राण्ड गाभिएर प्रभू भइसकेको अवस्थामा र ग्राण्ड बैंक अस्तित्वमा नरहेको अवस्थामा ‘तत्कालीन प्रभू बैंकको सेयर कारोबार मात्र खोल्नु’ भन्ने राष्ट्रबैंकको निर्देशनले प्रभू बैंक समेत बिलखबन्दमा परेको थियो । यो निर्णयका कारण मर्जरपछिको प्रभू बैंकको वार्षिक साधारणसभा र ०७४ असार मसान्तसम्म ८ अर्ब पूँजी पुु¥याउने योजना नै प्रभावित भएको भन्दै तीव्र आलोचना भइरहेको छ । 
सर्वसाधारण लगानीकर्तालाई मार पर्ने गरी नेपाल राष्ट्रबैंकबाट अपरिपक्व निर्देशन भएपछि त्यसको केही दिनमा धितोपत्र बोर्डले नेप्सेले खुलाएको साबिकको प्रभू बैंकको कारोबार समेत रोक्ने कडा निर्देशन दियो, त्यसपछि भने दुई नियामक निकायको द्वन्द्वको आगोमा घ्यू थपियो । धितोपत्र बोर्डले ग्राण्ड प्रभूमा गाभिइसकेको अवस्थामा तत्कालीन अवस्थाका दुवै बैंकको सेयर कारोबार खोल्नुपर्ने, एउटाको मात्र खोल्दा लगानीको अहित हुने भन्दै राष्ट्रबैंकको निर्देशनलाई नै चुनौति दिई प्रभूको कारोबार पनि तत्काल रोक्न नेपाल स्टक एक्सचेञ्जलाई कडा निर्देशन दिएको थियो । यो निर्देशनपछि बल्लतल्ल खुलेको प्रभू बैंकको सेयर कारोबार समेत निलम्बनमा परेको छ । धितोपत्र बोर्डले आफूहरुको निर्णयलाई चुनौति दिएको ठान्ने राष्ट्रबैंकका अधिकारी बोर्डविरुद्ध आक्रोश पोख्न क्रियाशील देखिएका छन् भने धितोपत्र बोर्डले पनि लगानीकर्ताको हित र धितोपत्र बजारको बिषयको आफू नियामक भएकोले राष्ट्रबैंकको गलत निर्णय टुलुटुलु हेरेर बस्न नसकिने स्पष्ट पारेको छ । 

नेपाल राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीले आफूहरुले सही निर्णय गर्दागर्दै धितोपत्र बोर्डले चुनौति हुने गरी हस्तक्षेपकारी भूमिका निर्वाह गरेर अनावश्यक द्वन्द्व निम्त्याएको आरोप लगाए । ‘हामीले तत्कालीन अवस्थाको प्रभू बैंकको मात्र सेयर कारोबार गर्नु भनेर निर्देशन दिनुको अर्थ ग्राण्डको सेयर प्रभू बैंकको नाम चाँडो नामसारी होस् भन्ने आशय मात्र थियो ।’ उनले भने–‘राष्ट्रबैंक गलत थिएन, तर धितोपत्र बोर्डले अनावश्यक द्वन्द्व निम्त्यायो ।’ 

उनले प्रभूको सेयरको बिषयमा निस्किएको लफडाको जड धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज रहेका दाबी पनि गरे । ‘उहाँहरुले हाम्रो कुरा नै बुझ्नु भएन ।’ पंगेनीले भने–‘कुरा नबुझी त्यत्तिकै उचालिने ? द्वन्द्व गर्ने ?’
नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी पंगेनीको कुरासँग सहमत छैनन् । उनले राष्ट्रबैंकले कुनै निर्देशन उसले पालना गर्ने ऐननियम अनुसार दिने भए पनि ती ऐन नियम आफूहरुलाई नलाग्ने प्रष्ट पारे । ‘हाम्रो पनि आफ्नै नियम र ऐन हुन्छन् ।’ उनले भने–‘राष्ट्रबैंकले निर्देशन दियो भन्दैमा लगानीकर्ताको अहित हुने गरी टुलुटुलु हेरेर बस्न हामीलाई सुहाउन्न ।’ उनले नेपाल स्टक एक्सचेञ्जले प्रभू बैंकको सेयरको अभिलेख नै नमगाई सेयर कारोबार खोलिदिएकोमा रोष प्रकट गरे । ‘हामीले नेपाल स्टक एक्सचेञ्जलाई पनि किन यस्तो भयो भनेर सोधेका छौ ।’ उनले बिजशालासँग भने–‘पहिला सेयरको अभिलेख हुनुपर्यो, अनि मात्र सेयर कारोबार हुन्छ । त्यही भएर हामीले साबिकको प्रभूको पनि रोकिदिएको हो ।’ 

उनले आफ्नो तर्फबाट कुनै द्वन्द्व नगरेको दाबी गर्दै आफूहरुको जिम्मेवारी अनुसार काम गर्न पाउनुपर्नेमा जोड दिए । ‘अब अभिलेख आउँछ अनि राष्ट्रबैंकसँग बुझेर आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने निश्कर्ष निकाल्छौ ।’–गिरीले भने । 

तर, गिरीले भनेजस्तो तत्कालीन प्रभू बैंकको सेयरको अभिलेख नै छैन भन्ने कुरा गलत रहेको बैंक स्रोतले बतायो । ‘तत्कालीन प्रभू बैंकको ३ अर्ब २० करोडको अभिलेख पहिलादेखि नै छ नि ।’ बैंकका एक अधिकारीले भने–‘हामीले ग्राण्डको अभिलेख समेत बुझाइसकेका छौ ।’ उनले राष्ट्रबैंकले कारोबारका लागि फुकुवा नगर्नु भनेको ग्राण्ड बैंकको सेयरको अभिलेख खोज्नु गलत रहेको बताए । ‘ग्राण्ड बैंकको पनि खोल्नु भनेको भए पो त्यसको पनि अभिलेख बुझाउनु त ।’ बैंकका ती अधिकारीले भने–‘साबिकको प्रभूको मात्र खोल्नु भनेपछि त्यसको त पहिलादेखि नै थियो ।’ 

विज्ञ भन्छन्–‘द्वन्द्व ठीक भएन, गलत सन्देश गयो’
नेपाल राष्ट्रबैंक र नेपाल धितोपत्र बोर्डबीच प्रभूको इस्यूलाई लिएर देखिएको द्वन्द्वले देशको बिषयमा गलत सन्देश विदेशी लगानीकर्तामाझ पुगेको बैंकर तथा विश्लेषक अनलराज भट्टराईको भनाई छ । ‘पूँजीबजार भनेको संवेदनशील क्षेत्र हो, यसमा उठ्ने विवादलाई संवेदनशील ढंगले नै समाधान गर्नुपर्छ ।’ उनले बिजशालासँग भने–‘प्रभू बैंक र सो बैंकमा बिलय भइसकेको ग्राण्ड बैंकको सेयरको बिषयमा लिएर नेपाल राष्ट्रबैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले जे जे अभ्यास गरे ती सबै गलत छन् । सबैका काम अपरिपक्व र केटाकेटी खेलेजस्तो भयो ।’

उनले ‘तँ ठूलो कि म ठूलो’ भन्ने लडाईंले लगानीकर्ताको मनोबल गिराउने र यसले धितोपत्र बजारलाई बर्बादीको बाटोतर्फ उन्मुख गराएको दाबी पनि गरे । ‘नेपाल राष्ट्रबैंक र धितोपत्र बोर्डले पूँजीबजारलाई कहाँ पुर्याउन खोजेका हुन् ? के गर्न खोजेको हो ?’ प्रश्न गर्दै उनले थपे–‘क्यापिटल मार्केटजस्तो सेन्सेटिभ क्षेत्रमा आएको समस्या तीनवटै बडी बसेर समाधान निकाल्नुको साटो विज्ञप्तिबाजी गर्दै हिँड्नू सर्वथा गलत छ ।’ 

उनले यस्तो द्वन्द्वले नेपालमा ‘विदेशी लगानीको सुरक्षा छैन’ भन्ने गलत सन्देश जाने बताए । ‘नेपालमा रेगुलेटरी रिस्क समेत ज्यादा रहेछ भनेर भोलिका दिनमा वैदेशिक लगानी नआउन सक्छ ।’ राष्ट्रबैंक र धितोपत्र बोर्डबीचको द्वन्द्वको दीर्घकालीन असरबारे औंल्याउँदै भट्टराई भने–‘यी जिम्मेवार निकाय बसेर प्रभू बैंकको सेयर कारोबारमा उठेको समस्या समाधानका लागि उपाय निकालेको राम्रो, यसरी जुँगाको लडाई नलडेकै बेस् ।’ उनले तीनवटै निकायलाई लगानीकर्ताको हित हेरिदिन आग्रह गरे ।