नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीकी श्रीमतीले वर्तमान मन्त्रिमण्डलमा उनले हेरफेर नगरे अर्को निर्वाचनमा आफ्नो सहयोग नरहन सक्ने बताएकी छन्।

बीबीसीसँगको एउटा अन्तर्वार्तामा आइशा बुहारीले 'राष्ट्रपतिलाई आफूले नियुक्त गरेका धेरै उच्च अधिकारीबारे थाहा नभएको' बताइन्।

तर हाल जर्मनीमा रहेका राष्ट्रपति बुहारीले आफ्नी श्रीमतीको स्थान घरमा भएको प्रतिक्रिया दिएका छन्।

राष्ट्रपतिबाट गरिएको नियुक्तिमा केही मानिसहरुको हात रहेको भन्दै आइशाले वर्तमान सरकार 'केहीको कब्जामा परेको' आरोप पनि लगाइन्।

सरकारभित्रको नातावाद-कृपावाद र भ्रष्टाचार रोक्ने वाचासहित मुहम्मदु बुहारी गत वर्ष राष्ट्रपति पदमा निर्वाचित भएका थिए।

राजधानी अबुजास्थित बीबीसी संवाददाता नाजिरु मिकाइलु भन्छन्, आफ्ना चासोलाई सार्वजनिक गर्ने राष्ट्रपतिकी श्रीमतीको निर्णयले कतिपयलाई आश्चर्यचकित पार्न सक्छ, तर त्यसले राष्ट्रपतिको नेतृत्वप्रति कति हदसम्म असन्तुष्टि छ भन्ने कुरा देखाउँछ।

आइशा बुहारीले देशभर महिला समूह तथा युवा संगठनहरुको भेलाहरु आयोजना गरी गतवर्षको राष्ट्रपतीय चुनावमा सशक्त अभियान चलाएर आफ्ना श्रीमानलाई सघाएकी थिइन्।

यद्यपि शुरुवाती क्रममा प्रशासनिक मामिलाबाट उनले आफूलाई टाढै राखिन् र विरलै उनी देखिन्थिइन् वा उनको कुरा सुनिन्थ्यो।


महिला सशक्तीकरण र उनी जन्मिएको उत्तर-पूर्वी क्षेत्रमा बोको हराम लडाकुहरुको द्वन्द्वबाट पीडित भएका मानिसहरुलाई सघाउने कार्यमै आइशा बुहारीलाई सीमित पारिएको थियो।

त्यसैकारणले उनको यो अन्तर्वार्ताले धेरै नाइजेरियाली जनताको ध्यान खिचेको हुनुपर्छ।

यो राष्ट्रपति मुहम्मदु बुहारीका लागि एउटा ठूलो झट्का हो, जसले कडा र सिधा कुरा गर्ने व्यक्तित्वका रुपमा नाम कमाएका छन्।

तर आइशा बुहारीका आलोचकहरु भन्छन्, आफ्ना मान्छेलाई नियुक्त गराउनका निम्ति राष्ट्रपतिलाई फकाउन नसकेपछि उनी त्यसरी बोल्न थालेकी हुन्।

आइशा बुहारीको आलोचनाले सरकारका अरु आलोचकलाई पनि बल पु-याएको बताइएको छ।

-बीबीसी