काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओको बाँडफाँड बैशाख २५ गतेभित्र हुने भएको छ। 

यो बैंकको एफपीओमा ३८ अर्ब बढी रकम फ्रिज हुँदा बजारमा तरलताको समस्या चर्किएको भन्दै बोर्डले एफपीओको बाँडफाँड कार्य सार्वजनिक निश्कासनको बिक्री बन्द भएको ५० दिनभित्र गरिसक्न बिक्री प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको हो । 

बोर्डको निर्देशनअनुसार अब एनएमबी क्यापिटलले ढिलोमा आगामी बैशाख २५ गतेभित्र बाँडफाँड कार्य गरिसक्नुपर्नेछ । 

एफपीओको छिटो बाँडफाँडले करीब दुईलाख पच्चीस हजार लगानीकर्ताहरुले करीब रु ३८ अर्ब रकम छिटो फिर्ता पाई बजारमा तरलताको असहज स्थितिलाई सहज बनाउनुका साथै रकम छिटो फिर्ता भई लगानीकर्ताहरुको हित समेत हुने बोर्डको दाबी छ । 

यो बैंकले गत चैत १ देखि ४ गतेसम्म प्रिमियम मूल्यसमेत जोडी प्रति कित्ता १२९० रुपैयाँको दरले कुल २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ निश्कासन गरेको थियो । एफपीओमा दुई लाख २५ हजारभन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख बढी रुपैयाँको आवेदन दिएका थिए । 

बोर्डले यसअघि नेपाल लाइफको एफपीओ बाँडफाँडमा पनि यस्तै निर्देशन दिएको थियो । सो बेला समेत निर्धारित समयभन्दा केही अगावै नेपाल लाइफको एफपीओ बाँडफाँड भएको थियो ।