काठमाण्डौ ।  साबिकको श्रीमिष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ । गत वर्ष दैनिक ३ पटक खाना र नास्ता खाएकी स्वस्तिकाले मंसिरयता पूरा पेट खान पाएकी छैनन् ।

सदरमुकाम सिमकोटको बीच बजारमा ०३९ सालमा स्थापना भएको महिला फिडर छात्रावासमा बसेकी स्वस्तिकाले मंसिरयता मात्रै ९ दिन भोकै विद्यालय जानुपरेको छ ।

सदरमुकाम सिमकोटको मानसरोवर उमाविमा कक्षा ६ मा अध्ययनरत चंखेल्नी गाउँपालिका मेखालाकी ११ वर्षीया ज्ञानुमाया ऐडीले आधा पेट खान थालेको पनि महिना दिन बितेको छ ।

गत चैतमा घरपरिवार छाडेर गुणस्तरीय शिक्षाको अभिलाषासहित हिमाली आवासीय छात्रावास आएकी ऐडीलाई सातपटकसम्म खाएको खानाको सम्झनाले सताएको छ ।

छात्रावासलाई सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत दिने छात्रवृत्ति रकम साउनदेखि नै नदिएको भन्दै छात्रावास प्रशासनले खाद्यान्नको जोहो गर्न नसक्दा छात्रावास भर्ना भएको महिना दिनमै उनी सात दिन भोकै विद्यालय गइन् ।

सरकारले शिक्षा मन्त्रालय हुँदै जिल्ला शिक्षा कार्यालय हुम्लामार्फत सम्बन्धित छात्रावासलाई प्रतिमहिना प्रतिविद्यार्थी आवास र खानाबापत दिँदै आएको ४ हजार रुपैयाँ गत साउनदेखि नदिएपछि अहिले दुवै छात्रावासमा आश्रय लिएर बसेका सबै विद्यार्थीको दैनिकी निकै कष्टपूर्ण बन्दै गइरहेको छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।