काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अर्थतन्त्रमा सुधार हुँदै गएको भन्दै चार कारण प्रस्तुत गरेको छ । 

चालु आर्थिक वर्ष ०७३/७४ का  पछिल्ला आर्थिक गतिविधि तथा सूचकहरुको आधारमा राष्ट्रबैंकले आफ्नो द्वैमासिक समीक्षा प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बन्दै गएको बताएको हो । 

केन्द्रीय बैंकले समीक्षा अवधिसम्ममा देशको धेरैजसो भूभागमा पर्याप्त वर्षा हुनुको साथै कृषिजन्य सामाग्रीहरुको वितरण समेत सहज रहेकोले वर्षे बालीहरुको उत्पादन गत वर्षको तुलनामा उल्लेख्य वृद्धि हुने संभावना औंल्याएको छ । 

यसैगरी, समीक्षा अवधिमा उर्जा एवम् कच्चा पदार्थहरुको आपूर्ति गत वर्षको सोही अवधिको तुलनामा सुधार आएकोले उद्योगहरुको क्षमता उपयोग बिस्तार भएको राष्ट्रबैंकको ठहर छ ।

यस्तै, पर्यटकीय होटलहरुको बेड अकुपेन्सी दरमा सुधार आएकोले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव देखिएको समीक्षा रिपोर्टमा बताइएको छ । 

आर्थिक वर्ष ०७३/७४ को दुई महिनासम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सरकारको विकास खर्चमा केही बिस्तार आएको, औद्योगिक उत्पादनले गति लिन थालेको र कृषि क्षेत्रतर्फ वर्षे बालीहरुको उत्पादन उत्साहजनक हुने देखिएकोले समग्र  आर्थिक गतिविधिमा सकारात्मक प्रभाव देखिएको बताइएको छ ।