काठमाण्डौ ।  रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमको नयाँ एक्सचेञ्ज सञ्चालनमा आएको छ । 

बुधबार आयोजित एक कार्यक्रमका बीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की(राम कार्की)ले सो एक्सचेञ्जको उद्घाटन गरे ।  मन्त्री कार्कीले नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेञ्जको उद्घाटन  गरेका थिए ।

सो अवसरमा कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने बताए ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताउँदै थ्रीजी सेवालाई प्रत्येक क्षेत्रमा पुर्याउन र फोरजी सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताए ।

बुधबार उद्घाटित नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको छ । यसमध्ये ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन् । लामो समयदेखि प्रतिक्षारत् ग्राहकले समेत सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले कम्पनीले विभिन्न स्थानमा यस्ता एक्सचेन्ज स्थापना तथा सञ्चालन गर्दै आएको छ ।