काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा बैकिङ प्रणाली बाहिर पनि भारु ५ सय र १ हजारको नोट यथेष्ठ परिमाणमा रहेको अनुमान गर्दै ती रकम समयमै व्यवस्थापन नभए सर्वसाधारण र देशलाई नै ठूलो आर्थिक क्षति हुने भन्दै समयमै पहल थाल्न आग्रह गरेको छ । 

हालै भारत सरकारले रु ५ सय र १ हजार दरका नोटको कारोवारमा रोक लगाउँदा त्यसले सर्वसाधारण नेपाली नागरिक र नेपालको अर्थतन्त्रमा समेत असर परेको भन्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सरोकार निकायवालाको ध्यानाकर्षण गराइएको हो । 

नेपाल–भारत बीचको खुला सिमाना, दुई देश बीचको नागरिकहरुमा वैवाहिक सम्बन्ध, अनौपचारिक व्यापार, रोजगारी, पेन्सन, पर्यटन व्यवसाय, शिक्षा, औषधोउपचार जस्ता कारण बैंकिङ्ग प्रणाली बाहिर पनि भारतीय ५ सय र १ हजार दरका नोट यथेष्ठ रहेको चेम्बर अफ कमर्सको अनुमान छ । 

नेपाल सरकारकै प्रयासमा प्रयोजनका आधारमा एक व्यक्तिले रु २५ हजार सम्म भारतीय मुद्रा राख्न पाउने व्यवस्थाले समेत सर्वसाधारण नागरिकहरुसंग ठूलै परिमाणमा रु ५ सय र १ हजार दरका भारतीय मुद्रा रहेको उसको भनाई छ ।

यस्ता मुद्राहरु समयमै सटही हुन नसकेमा सर्वसाधारण नागरिकहरुलाई ठूलो असर पुग्न जाने  र यसले नेपालको अर्थतन्त्रमै समेत असर गर्नसक्ने भन्दै चेम्बरले चिन्ता व्यक्त गरेको छ । 

नेपाल चेम्वर अफ कमर्सले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै समस्या समाधानका लागि समयमै आवश्यक गृहकार्य गरी सर्वसाधारण नागरिकहरुलाई आश्वस्त पार्नुको साथै मुलुकलाई आर्थिक नोक्सानीबाट बचाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंक, लगायत सरोकारवाला निकायहरुले पहल थाल्नुपर्ने माग गरेको छ ।