काठमाण्डौ । अदालतको अपहेलना गरेको तथा आफूहरुलाई नटेरेको आरोपमा राजनीतिक दलका नेताहरुको डिजाइनमा संसदमा महाअभियोगको उजुरी दर्ता भएपछि मौन रहेका अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीेले आफ्नो मुख खोलेका छन् । 

उनी मंगलबार सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आफ्ना कुरा प्रष्ट राखेका हुन् । लोकमानसिंह कार्की सर्वोच्च अदालतमा आफैं गएर लिखित जवाफ पेश गरेसँगै उनले अदालतलाई नटेरेको, कानूनभन्दा माथि बन्न खोजेको, देश आफैं चलाउन खोजेका जस्ता आरोप स्वतः खण्डन भएको बताइएको छ । 

लोकमानको लिखित जवाफमा उनीमाथि लगाइँदै आएका कतिपय संगीन आरोप र फैलाइएका हल्लाको बिषयमा समेत प्रष्ट पारिएको छ । 

उनले लिखित जवाफ पेश गर्ने क्रममा आफू अख्तियारको सरकारी आवासमा बसिरहेको भन्दै कार्कीले भाडामा दिएको आफ्नो घरमा म्याद टाँस्न किन पठाइएको भनी सर्वोच्च अदालतलाई सोधेका छन् ।

कार्कीले अख्तियार प्रमुखमा नियुक्त भएसँगै आफू आयोग परिसरकै सरकारी निवासमा बसिरहेको उल्लेख गर्दै भनेका छन्–‘यसअघि मेराविरुद्ध जति उजुरीहरु परे, ती सबैको म्याद मेरो भाडामा दिएको घरमा नपठाएर म बसिरहेको सरकारी निवासमा नै तामेल भयो र मेराविरुद्ध अफवाह फैलाउने काम भयो ।’ 

कार्कीले आफू बसेको सरकारी निवासमा म्याद तामेलीमा कुनै असहयोग नगरेको पनि प्रष्ट पारेका छन् । ‘यसपटक म नबसेको, तीन बर्षदेखि भाडामा दिएको घरमा किन, कसरी र कुन उद्देश्यले म्याद तामेल गर्न लगियो, मलाई आश्चर्य लागेको छ ।’ जवाफ दिंदै उनले भनेका छन्–‘म यो विषयमा सम्मानित सर्वोच्च अदालतको ध्यानाकर्र्षण गराउन चाहन्छु ।’

संसदमा आफूविरुद्ध परेको महाअभियोगत सम्बन्धी उजुरीको बिषयमा कार्कीले त्यो संसदको क्षेत्राधिकारभित्रको विषय रहेको प्रष्ट्याएका छन् । उनले आफूमाथिको आरोप पूर्णरुपमा पूर्वाग्रही रहेको खुलासा गर्दै खारेज हुनुपर्ने माग गरेका छन् । उनले आफ्नो लिखित जवाफमा न्यायिक प्रक्रियामा अवरोध गरेको भन्ने आरोप गम्भीर र गलत भएको भन्दै खण्डन गरेका छन् । 

विगतमा म्याद तामेली गर्न गएका तामेलदारलाई अवरोध गरेर कार्कीले सर्वोच्च अदालतको अपमान गरेको भन्दै उनीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले मुद्दा दायर गरेका थिए । म्याद तामेलीमा अवरोध गरेको भन्ने आरोपअनुसार सर्वोच्चले कार्कीलाई किन कारबाही नगर्ने भन्दै कात्तिक २३ गते ७ दिनको समय तोकेर आफैँ उपस्थित भई लिखित जवाफ दिन आदेश दिएको थियो ।

यस्तो पूर्वाग्रह किन ?
अधिवक्ता अर्यालले दायर गरेको उजुरीमा आफूमाथि लगाइएका आरोप आधारहीन रहेको भन्दै कार्कीले संवैधानिक आयोगको प्रमुखमाथि यस्तो पूर्वाग्रह किन राखेको भनी प्रश्न गरेका छन् । उनले विपक्षीले आफूलाई पूर्वमुख्य सचिवको हैसियतमा मात्र मुद्दा दायर गरेको र अहिले संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रुपमा नस्वीकारिएकोमा आपत्ति जनाएका छन् । ‘यहीबाट प्रष्ट हुन्छ कि उजुरी कतिसम्म पूर्वाग्रही छ भन्ने कुरा ।’ उनले लेखेका छन् । उनले उजुरी आफूलाई बदनाम गराउने उद्देश्यले गरिएको प्रष्ट्याउँदै भनेका छन्–‘उजुरीकर्ता निवेदक मप्रति पूर्णरुपमा पूर्वाग्राही भएको मेरो पदीय हैसियतको उल्लेखबाट नै प्रष्ट हुन्छ । वास्तविक तथ्य लुकाई मेरो पूर्वपदीय हैसियतमात्र देखाई निवेदन दिनुबाट मप्रति उजुरीकर्ता कति हदसम्म पूर्वाग्रही रहेको भन्ने प्रमाणित हुन्छ ।’