काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमालेसँग सहमति नभए पनि सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार एमाले अध्यक्ष केपी ओलीलाई पनि शुक्रबार संशोधन विधेयक संसद्मा दर्ता गर्ने जानकारी गराएका छन् ।

शुक्रबार दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट विधेयकको मस्यौदा पारित गर्ने उनको योजना छ । संशोधनको मस्यौदा मन्त्रिपरिषद्मा लैजानुअघि शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले एकपटक शीर्ष नेताहरूसँग छलफल गर्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

‘ठ्याक्कै मस्यौदा बनिसकेको छैन,’ उनले भने, ‘तर, शुक्रबार बिहानसम्म फाइनल गरेर मन्त्रिपरिषद् बैठकमा लैजाने गरी सरकार अघि बढेको छ ।’ प्रचण्डले बिहीबार साँझ नै मस्यौदा तयारीबारे उपप्रधानमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी, कानुनसचिव टेकनाथ ढुंगानालगायतसँग छलफल गरेका  आजको  नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रधानमन्त्री : तपाईंहरूले विरोध गरे पनि अब संविधान संशोधन प्रस्ताव दर्ता गरेर अगाडि जाने भइयो, सके सहमतिमा आएर समर्थन गर्नुहोस्, त्यसो गर्नुहुन्न भने पनि चर्काे विरोधमा नआइदिनुहोस् ।

ओली : तपाईं नयाँ द्वन्द्वको बीजारोपण गर्दै हुनुहुन्छ । तपाईं त्यसरी अगाडि नबढ्नोस्, यदि अगाडि बढ्नुभयो भने त्यसले नयाँ खालको द्वन्द्वको बीजारोपण गर्छ । हामी त्यस्तो प्रस्तावलाई समर्थन गर्न सक्दैनौँ । त्यसलाई कसरी असफल पार्ने भन्ने सबैखाले प्रयास गर्छौँ । त्यस्तो प्रस्तावविरुद्ध आन्दोलन सशक्त बनाएर अघि बढ्छौँ ।

प्रधानमन्त्री : मैले मोर्चालाई पनि सोधेँ, तपाईंहरू के गर्नुहुन्छ भनेर । ‘तपाईंहरूको समर्थन हुन्छ भने दर्ता गर्छु, नभए गर्दिनँ । मैले दर्ता गर्ने, तपाईंहरूले समर्थन नगर्ने, प्रस्ताव पनि पारित नहुने स्थितिमा मैले नैतिकताका आधारमा पद छाड्नुपर्ने हुन्छ भन्दा उहाँहरूले समर्थन गर्छौँ’ भन्नुभयो ।

ओली : देशलाई बर्बाद गर्ने र तपाईंलाई पनि समाप्त पार्ने प्रस्तावमा त उहाँहरूले पनि समर्थन गरिहाल्नुहुन्छ नि !

एमाले नेता माधव नेपालसँग प्रचण्ड–देउवाको छुट्टै भेट

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बिहान एमाले नेता माधवकुमार नेपाललाई भेटेर पार्टीभित्र संविधान संशोधनमा सहमतिको वातावरण बनाउन आग्रह गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच करिब आधा घन्टा छलफल भएको थियो ।

यसअघि कांग्रेस नेता रामचन्द्र पौडेलले बुधबार एमाले अध्यक्ष ओलीलाई भेटेर सहमतिमा आउन आग्रह गरेका थिए ।