काठमाण्डौ । भारतमा प्रतिबन्धित ५ सय र १ हजारको नोटलाई धमाधम बैंकमा जम्मा गराइँदैछ । यही बेलामा धेरैको चासो हुनसक्छ जम्मा भएको नोटलाई के गरिएला ? भारतीय मिडियाका रिपोर्ट अनुसार खासगरी यी नोटलाई ठूला–ठूला बण्डल बनाएर कडा सुरक्षाबीच ट्रकमा लोड गरिन्छ, त्यसपछि यी नोट देशका कयौं भागमा रहेका रिजर्ब बैंक अफ इण्डियाका विशेष केन्द्रहरुमा पठाइन्छ । त्यहाँ पुुर्याएपछि यी नोटहरुलाई टुक्रा–टुक्रा पारिन्छ । त्यसपछि ती टुुक्रालाई बोरामा लोड गरेर रिसाइक्लिङ वा इँटा बनाउनका लागि केही डिलरहरुमा पठाइन्छ । यी नोटहरुलाई केरलाको कन्नुुर जिल्लाको वालापट्टनम नदीको  किनारमा अवस्थित वेस्टर्न इण्डिया प्लाइउडको आँगनमा समेत पुर्याइँदैछ, जहाँ नोटका टुक्राबाट प्लाई बनाइनेछ । 

वेस्टर्न इण्डिया प्लाइउडका प्रबन्ध निर्देशक पीकेएम मोहमदका अनुसार उनीहरुलाई पछिल्लो तीन साताको अवधिमा ५ सय र १ हजारका प्रतिबन्धित नोट १४० टन प्राप्त भएको छ । प्लाईउड, हार्ड बोर्डस् र लेमिनेन्ट्स बनाउने ७० वर्ष पुरानो यो कम्पनीलाई ८ नोभेम्बर(नोटमाथि प्रतिबन्ध घोषणा गरिएको दिन) भन्दा केही दिनअघि नै रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले सम्पर्क गरेको थियो । मोहमदले भनेका छन्–‘रिजर्ब बैंकले पहिला ट्रायलको रुपमा हामीलाई १० देखि १५ ब्याग नोट उपलब्ध गराएको थियो, ती नोटबाट हामीले प्लाई तयार गर्यौं । हाम्रो काम देखेर आरबीआईले निकै ठूलो परिमाणमा पुराना नोट पठाइदिने वाचा गरेको थियो, त्यसबेला हामीलाई अगाडि के हुँदैछ भन्ने थाहा पत्तो थिएन ।’ 

आरबीआईले यो कम्पनीलाई अधिक भन्दा अधिक पुराना नोट दिन चाहन्छ, तर यो कम्पनीले हप्तामा ४० टन भन्दा बढी नोट लिनसक्ने क्षमता राख्दैन । एक टन नोटका लागि यो कम्पनीले आरबीआईलाई २५० भारु तिर्नुुपर्छ । 

नोटबाट यी वस्तु बनाइनेछ
वेस्टर्न इण्डिया प्लाइउड उद्योगसँग स्वीडेनमा बनेको हाई इनर्जी पल्पिङ प्रेस रहेको छ । कम्पनीले यही मेसिनको मद्धतबाट क्षणभरमै पुराना नोट प्रयोग गरेर प्लाइउड तथा अन्य प्रोडक्ट्स बनाउँछ । मोहमदका अनुसार भारतको नोट निकै स्तरीय कागजबाट बनाइएको हुन्छ । यस्तो स्तरीय कागजलाई न्यूजप्रिन्ट वा क्राफ्ट पेपर कम्पनीको नर्मल प्रक्रियाबाट रिसाइकल गर्न सकिन्न । 

लामो समयसम्म चल्नेछ उत्पादन
प्लाइउड उद्योगले नोटको टुक्राबाट बनेको प्लाईउडका साना–साना टुक्रालाई अन्य सामाग्रीसँग मिलाएर प्रेसमा हालिदिन्छ । १०० किलोको पल्पलाई राम्रो प्लाई बनाउन ७ केजी नोट प्रयोग गरिन्छ, बाँकी सबै काठको टुक्रा प्रयोग गरिएको हुन्छ । मोहमदका अनुसार नोटबाट बनेको प्लाईबाट उद्योगले लामोसम्म टिक्ने कयौं फर्निचरका प्रोडक्ट्स बनाउनेछ । केही दशकअघिसम्म विश्वभरिका केन्द्रीय बैंकहरुले पुरानो नोट डढाएर नष्ट गर्थे । तर यसो गर्दा पर्यावरणमा असर पुुग्ने भन्दै धेरै देशहरुले हिजोआज पुरानो नोट डढाउदैनन्, बरु त्यसलाई रिसाइकल गरी अनेकौ उपयोगी सामान निर्माण गर्छन ।