काठमाण्डौ । दोश्रो बजारको स्वचालित पूर्ण अनलाइन कारोबार प्रणाली स्थापनाको माग उठेको धेरै भयो । लगानीकर्ताहरुले यसका लागि आन्दोलन समेत गरे । सबै पक्षको तीव्र माग र उच्च चासोको बिषय बनेको स्वचालित पूर्ण अनलाइन कारोबार प्रणाली आउन धेरै प्रयास गर्दा पनि अझै केही महिना लाग्छ । परिस्थितिको यही जटिलतालाई बुुझेर नेपाल धितोपत्र बोर्डले सेमी–अनलाइन कारोबार प्रणाली सुरु गर्ने योजना बनाएको छ । 

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बिजशालासँगको कुराकानीमा सेमी–अनलाइन कारोबार प्रणाली केही साताभित्रै सुरु गर्ने गरी तयारी थालिएको खुलासा गरेका हुुन् । 

‘अनलाइन प्रणालीको बिषयमा धेरैमा यो के के न होला भन्ने भ्रम छ ।’ उनले भने–‘चाहँदा यो केही होइन, सेमी–अनलाइन प्रणाली हामी केही समयभित्रै सुरु गर्न सक्छौ ।’ 

उनले अहिलेकै सिस्टम(सफ्टवेयर)मा केही विशेषता थपेर लगानीकर्तालाई कारोबारमा केही बढी अनलाइन पहुँच दिन सकिने दाबी गरे । नेप्सेको अहिलेको सफ्टवेयरबाटै लगानीकर्तालाई त्यस्तो सुविधा दिन सकिने गरी काम अगाडि बढेको उनको भनाई छ । बोर्डले सोही अनुसार नेप्सेलाई निर्देशन दिने र त्यहाँबाट यो प्रणालीको चाँर्ड सुरुवात हुने उनको भनाई छ । 

के हो सेमी–अनलाइन प्रणाली ?
अध्यक्ष डा. कार्कीका अनुसार सेमी–अनलाइन कारोबार प्रणालीअन्तर्गत नेप्सेले ब्रोकरहरुलाई उपलब्ध गराएको लगइन(टर्मिनल) अन्तरगत रहने गरी लगानीकर्ताहरुलाई आफूले खरीद गर्न चाहेको सेयर अर्डर गर्नसक्ने अनलाइन सुविधा प्रदान गर्न सकिन्छ । यसका लागि कुनै ब्रोकरको लगइन अन्तर्गत रहने गरी लगानीकर्तालाई समेत सिस्टमको पासवर्ड दिने र त्यहाँबाट उसले अनलाइनबाट आफूले खरीद गर्न चाहेको सेयर, खरीद गर्न चाहेको मूल्य आफ्नो ब्रोकरलाई अर्डर गर्नेछ । लगानीकर्ताले अनलाइन अर्डरलाई ब्रोकरहरुले ट्रेडिङ सिस्टममा इनपुट गर्नेछन् । यो सुविधाले कारोबारका केही झञ्झटिला प्रक्रिया अन्त हुनेछन् भने छिटोछरितो कारोबारमा समेत यसले महत्वपूर्ण देन दिन सक्नेछ । 

‘यो सिस्टम आयो भने यसले केही भए पनि लगानीकर्तालाई राहात मिल्नेछ ।’ स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले बिजशालासँग भने–‘लगानीकर्ताको हात–हातमा स्मार्टफोन र इन्टनरेटको एक्सेस छ, अहिलेजस्तो सेयर अर्डर गर्न ब्रोकरको अफिसमै आउनुपर्ने, लिखित निवेदन दिनुपर्ने झञ्झट अन्त हुन्छ ।’ 

हाल कुनै पनि लगानीकर्ताले सेयर खरीद गर्नुपर्यो भने ब्रोकरहरुलाई फोन गर्नुपर्ने, कार्यालयमै आएर लिखित अर्डर दिनुपर्ने अवस्था छ । सेमी–अनलाइन प्रणालीबाट अर्डरको अनलाइन सुविधा मात्रै उपलब्ध भयो भने पनि यसले बजारमा ठूलो सुधार ल्याउने पौड्याल दाबी गर्छन् । 

बोर्डका अध्यक्ष डा. कार्कीले सेमी अनलाइन प्रणाली पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा नआउँदासम्म अस्तित्वमा रहने जानकारी दिए । एक कम्पनीले नेप्सेबाट ठेक्का पारी पूर्ण स्वचालित अनलाइन प्रणालीको सफ्टवेयर निर्माणका कामलाई समेत तीव्र पारेको छ । यो सफ्टवेयर तयार हुन केही महिना समय लाग्ने बताइएको छ ।