काठमाण्डौ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। 

काठमाण्डौको बसुन्धारामा काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शय्याको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ को आज शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले जीटूजी र बीटूबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेको बताए। ‘जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौँ’, उनले भने, ‘भारत सरकारले छिट्टै नेपाललाई लिक्वीड अक्सिजन प्लान्ट सहयोग गर्दैछ। चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ। निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौँ।’ 

विभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको पोखरेलले बताए। ‘कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँको समग्र नेतृत्व गर्नुभएको छ’, उनले भने, ‘अहिले फैलिरहेका बिभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न आग्रह पनि गर्नुभयो। अहिले जति पनि भ्रमपूर्ण कुराहरु फैलिएका छन्, त्यसमा कुनै सत्यता छैन।’

तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित सुरु भएको यो आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो। आवश्यकताअनुसार २ सय बेडसम्म संचालन गर्न सकिने यस आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ। यो आइशोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ।

आइसोलेसन केन्द्र शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल, प्रधानसेनापति पूर्णचन्द्र थापा, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायतको उपस्थिति थियो।