– प्रकाश न्यौपाने
काठमाण्डौ । सेयर बजार बुल र बियरको चक्रमा चल्ने गर्छ।
नेपालको सेयर बजारमा प्रत्येक बुलमा भिन्न–भिन्न कम्पनीले सबैभन्दा उच्च विन्दु चुमेर रेकर्ड बनाउँदै आएका छन्। लगानीकर्ताले त्यस समयमा मनग्य नाफा पनि कमाउन सफल भए।
कुनै बेला स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमा लगानी गर्नेले मनग्य नाफा कमाए। ११७५ को बुलमा यो बैंकको सेयरभाउ ९ हजार रुपैयाँभन्दा माथिको उच्च स्तरमा पुग्दा तल्लो विन्दुमा लगानी गर्ने लगानीकर्ताले घर–घरेडीसमेत जोड्न सफल भए।
११७५ कै बुलमा नेपाल लाइफ इन्स्योरेन्सको सेयरभाउ पनि ५ हजार रुपैयाँको उच्च स्तरसम्म पुगेको थियो।
त्यसैगरी १८८१ को बुलमा युनिलिभर कम्पनीको सेयरभाउले ३५ हजार रुपैयाँसम्मको उच्च स्तर चुमेको थियो। यो कम्पनीमा लगानी गर्नेहरुले त्यतिबेला मनग्य नाफा कमाए।
त्यसैगरी ३२०० को बुलमा साल्ट ट्रेडिङको सेयरभाउ १३ हजार रुपैयाँ र हिमालयन डिस्टिलरीको सेयरमूल्य ७ हजार ५०० रुपैयाँभन्दा माथि पुगेको थियो। तर, सस्ता हाइड्रोपावर कम्पनीमा लगानी गर्नेहरुले सबैभन्दा धैरै कमाए। त्यस्ता कम्पनीमा तल्लो विन्दुमा लगानी गरेर प्रत्येक वर्षको लाभांश खाएर उच्च विन्दुमा नाफा बुक गर्न सफल लगानीकर्ताले असीमित पैसा कमाए। तर, ती अघिल्ला बुलहरुको उच्च विन्दुमा खरिद गरेर अहिलेसम्म होल्ड गरेर बसेका लगानीकर्तालाई भने अधिकांश कम्पनीमा घाटा नै छ।
हालसम्मकै उच्च ३२०० माथि पुगेर १८०० को आसपास आएर फर्किएको बजार आज बढेर २१८३.६२ को विन्दुमा बन्द भएको छ। ब्रोकर हाउसमा भेला भएका लगानीकर्ताहरु अब बजार विस्तारै माथि जाने विश्वास गर्छन्।
लगानीकर्ताहरु अब आउने बुलमा कुन कम्पनीको सेयरभाउ धेरै गुणाले बढ्ला त भन्नेमा अनुमान र छलफल गर्न थालेका छन्।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल अहिले सबै कम्पनीको सेयरभाउ घटेकोले राम्रा र बलिया कम्पनी छनोट गरेर लगानी गर्दा आउँदो बुलमा राम्रो कमाइ गर्न सकिने बताउँछन्।
बजार अहिले अल्पकालीन लगानीकर्ताहरु हावी रहेको ढकालको भनाइ छ। ‘राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेका कारण दीर्घकालीन लगानी गर्नेहरुको संख्या घटेको छ’, उनले भने, ‘अहिले बजारमा स्वपुँजी र थोरै–थोरै लगानी गर्नेहरुले छिटो–छिटो खरिदबिक्री गरेको देखिन्छ।’
त्यसैले विशेषगरी आधारभूत रुपमा बलिया कम्पनीहरुमा यतिबेला लगानी गर्दा आउने बुलमा राम्रै कमाइ गर्न सकिने ढकाल बताउँछन्। ‘अघिल्लो बुलहरुमा उच्च विन्दुमा सेयर बेच्न नसकेकाहरु फसेका हुन्’, उनले भने, ‘त्यसैले अघिल्लो बुलहरुबाट पाठ सिक्दै प्राविधिक पक्षलाई पनि ध्यान दिँदै बजार लयअनुसार कारोबार गर्न सके राम्रै प्रफिट बुक गर्न सकिन्छ।’
पुराना लगानीकर्ता एवं बजार जानकार विकास पुन रिजर्भ राम्रो भएका, सेयर संख्या कम भएका र सस्ता कम्पनीमा लगानी गर्दा राम्रो नाफा कमाउन सकिने बताउँछन्। ‘महँगो सेयरमा लगानी गर्दा जोखिम बढी हुने भएकाले लगानीकर्ताले सस्ता र लाभांश क्षमता भएका कम्पनीमा आँखा लगाएको देखिन्छ’, उनले भने।
बजार बढेर उच्च विन्दुमा पुगेपछि हौसिएर खरिद गर्ने र तल्लो विन्दुमा खरिद गरेर उच्च विन्दुमा पुग्दा पनि अझै बढ्ने लोभले नाफा बुक गर्न नजान्दा अघिल्ला बुलहरुमा जस्तै आउने बुलमा लगानीकर्ताहरु फस्ने सम्भावना धेरै रहेको पुन बताउँछन्। ‘त्यसैले बजार रणनीति बनाउँदै बलिया र राम्रा कम्पनीमा लगानीकर्ता अघिल्ला बुलमा जस्तै बजारको लिड गर्ने कम्पनीहरुले राम्रै रिटर्न दिन सक्छन्’, उनले भने।
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago