काठमाण्डौ । चीनको सांघाई सहरको बुन्ड नामले चिनिने स्काईलाइनमा दुई रातसम्म विद्युत आपूर्ति बन्द गरिने भएको छ। बिजुली बचत गर्न यो निर्णय गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्।

स्काईलाइन ऐतिहासिक र फ्युचरिस्टिक भवनहरुका लागि प्रसिद्ध। यो वाटरफ्रन्ट क्षेत्र पर्यटकको ताँती लाग्ने गर्छ। 

चीनका अन्य थुप्रै ठूला सहरहरुमा विद्युत आपूर्ति ठप्प भएको छ। ती सहरका लाखौँ मानिसले विद्युत कटौतीपछि थुप्रै समस्याको सामना गरिरहेका छन्। 

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। अहिले चीनको थुप्रै इलाकामा खडेरी परेको छ। धेरै इलाकामा ताममान रेकर्डस्तरमा पुगेको छ। 

आइतबारको सूचनामा सांघाई ल्यान्डस्केपिङ र सिटी अपियरेन्स एडमिनिस्ट्रेटिभ ब्यूरोले बुन्डमा सहरको सबैभन्दा ठूलो नदीको छेउमा बनाइएका भवनहरुमा सोमबार र मंगलबार बत्ती नबल्ने जानकारी गराइएको छ। सूचनामा भनिएको छ, ‘यसबाट तपाइँहरुलाई कुनै असुविधा भएमा हामी क्षमाप्रार्थी छौँ।’

गत हप्ता चीनमा खडेरीको पहिलो राष्ट्रिय चेतावनी जारी गरिएको थियो। वास्तवमा सांघाई, याङ्त्जे डेल्टा क्षेत्र र दक्षिणपश्चिम चीनको सिचुआन क्षेत्रमा विगत केही हप्तादेखि अत्यधिक गर्मी भइरहेको छ। त्यहाँ अलर्ट जारी गरिएको छ। यो तापमान आधिकारिक स्तरमा तेस्रो सबैभन्दा खतरनाक स्तर हो।

सिचुवान प्रान्तको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ। अधिकारीहरुले भर्खरै एक विज्ञप्ति जारी गर्दै बढ्दो तापक्रम र कम वर्षासँगै खराब हावाको अवस्थाका कारण ठूलो ऊर्जा संकट भएको बताएका छन्। 

सञ्चारमाध्यमका अनुसार विद्युत् कटौती ५ दिनका लागि थपिएको छ। केही औद्योगिक कम्पनीहरुमा पनि कटौती भइरहेको छ। 

जर्मन कार कम्पनी फक्सवागनले चेङ्दु (सिचुआनको राजधानी) मा रहेको आफ्नो कारखाना विद्युत् कटौतीका कारण बन्द भएको जनाएको छ। फक्सवागनका प्रवक्ताले कम्पनीका कारको डेलिभरीमा ढिलाइ हुनसक्ने बताएका छन्। ‘हामी स्थितिको अनुगमन गरिरहेका छौँ। हामी आपूर्तिकर्ताहरुसँग सम्पर्कमा छौँ’, प्रवक्ताले भनेका छन्।

एप्पलको सप्लायर फक्सकनले पनि सिचुआनमा रहेको आफ्नो प्लान्ट तत्कालका लागि बन्द गरेको छ। तर, विद्युत् कटौतीले उत्पादनमा खासै असर नपाएको कम्पनीले जनाएको छ। 

जापानको अर्को ठूलो कार कम्पनी टोयोटाको उत्पादन पनि सुस्त गतिमा भइरहेको छ। 

कन्सल्टेन्सी फर्म कन्ट्रोल रिस्कमा चीन र उत्तर एसियाका लागि सहयोगी विश्लेषक चेन्यु वु विद्युत कटौती लामो समयसम्म नरहने बताउँछन्। ‘स्थानीय तहमा विद्युत् बचत र उत्पादन बढाउने प्रयास भइरहेको र आगामी सातामा यो अवस्थामा सुधार आउने देखिन्छ’, उनले भने, ‘अबको केही दिनमा गर्मी कम भएमा छिट्टै स्थितिमा सुधार आउने छ।’

स्थानीय प्रशासनले मध्य र दक्षिणपश्चिम चीनमा वर्षा बढाउने उपायहरु गरिरहेको छ। चीनमा अहिले चलिरहेको गर्मीको लहर अहिलेसम्मकै सर्वाधिक हो। 

याङ्जी नदी वरपरको खडेरी प्रभावित क्षेत्रमा वर्षा गराउन क्लाउड सिडिङ कार्य भइरहेको छ। हुबेई र अन्य धेरै प्रान्तहरुमा पनि वर्षा गराउनका लागि रसायन बोकेका रकेटहरु छोड्ने काम भइरहेको छ। तर, बादल नहुँदा धेरै ठाउँमा यो प्रयास असफल भइरहेको छ। –एजेन्सी