काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा अटोमोबाइल उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिइएको बताएका छन्। 

आज अर्थ मन्त्रालयमा नाडा प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले यस्ता धारणा राखेका हुन्। ‘सोहीअनुरुपका नीतिहरु ल्याइएको छ’, उनले भने, ‘यसबाट थप रोजगारी रोजगारीमात्र सिर्जना हुने नभई दक्ष जनशक्ति तयार हुनेछ भने लगानी र उत्पादन पनि बढ्नेछ।’

सरकारको उद्देश्य जसरी पनि देश बनाउनु नै रहेको शर्माले बतिाए। ‘उद्योगव्यवसाय क्षेत्रकोे समस्या समाधानका लागि सरकारले कर पुनरावलोकन आयोगसमेत गठन गर्न लागेको छ’, उनले भने, ‘सरकारबाट कहाँकहाँ कमजोरी भए, त्यसको समेत समाधान गरिनेछ।’ 

छलफलमा नाडाका उपाध्यक्ष करण चौधरीले एसेम्बल गरी नेपालमा सवारीसाधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महसुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताए। उनले एसेम्बल कति पाटर्समा आउनुपर्ने हो र कुन पार्टस एसम्बलिङ हो भन्नेमा सरकारले स्पष्ट वर्गीकरण गर्नुपर्ने बताए।

चौधरीले नेपालमा गुणस्तरीय लुब्रिकेन्टसको आयात र उत्पादनका लागि सरकारले सोहीअनुरुप नीति ल्याउनुपर्ने आग्रह गर्दै सरकारले अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नुपर्ने बताए। उनले नेपालको उद्योगव्यवसायको प्रवर्द्धनका लागि नीतिमा स्थिरता हुनुपर्ने भन्दै त्यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेकहोल्डरको रुपमा लिनुपर्ने बताए। 

छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा १६० सिसिसम्मका मोटरसाइकलहरु दुई तिहाइको सख्यामा बिक्री हुने भन्दै अहिलेको सेगमेण्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरुमा आर्थिक भार थपिन पुगेको मात्र नभई अलमलमा समेत पर्ने बताए। उनले सरकारले गरेको वर्तमान सेगमेण्टलाई पहिलेकै अवस्थामा ल्याउँदा सबैलाई सहज हुने धारणा राखे। 

छलफलमा दुगड ब्रदर्स एन्ड सन्सका प्रबन्ध निर्देशक विवेक दुगडले सरकारले २५० सीसीभन्दा माथिका मोटरसाइकललाई हेभी सवारीसाधन मानेको तर नेपालको पहाडी धरातलीय अवस्थितिका कारण र पर्यटन प्रवर्द्धनका लागि उच्च सीसीका मोटरसाइकल आवश्यक पर्ने बताए। 

छलफलमा नाडाका सचिव अनुप बराल, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल, एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिबाट राजु श्रेत्री, एसएलआर टेक्नो ट्रेड प्रालिबाट सुगम घिमिरे समेतको उपस्थिति थियो।