काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले अटोमोबाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।

नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताएका हुन्। ‘मैले अटोमोबाइल क्षेत्रलाई नजिकबाट चिनेको छु’, उनले भने, ‘अटोमोबाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक छ।’

पौडेलले अटोमोबाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन दिए। उनले अटोमोबाइल व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न आग्रहसमेत गरे।

छलफलमा अध्यक्ष थापाले पछिल्ला समयमा आएका विभिन्न नीतिहरुका कारण पहिल्यैदेखि प्रताडित भएको अटोमोबाइल व्यवसायलाई झनै कठिन अवस्थामा पुर्याएका कारण व्यवसायीहरु आफ्नो ब्यवसायबाट नै पलायन भइरहेकोले अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरिदिन आग्रह गरे। 

अध्यक्ष थापाले बढदो व्याज दर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखी अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारीसाधनहरु आयातका लागि एलसी खोल्दा न्यूनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने, अटो लोन–हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्नेलगायत सुझाव दिए। नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालुपुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुँदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागू गर्न कठीन हुने देखिएको उल्लेख गर्दै उनले उक्त निर्देशिकालाई दुई वर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि आग्रह गरे।