– रेखा चन्द

काठमाण्डौ । सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध अटो व्यवसायीहरुकोे पहिलो चरणको आन्दोलन आज सकिएको छ। 

अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)को अगुवाइमा आज काठमाण्डौको माइतीघरमा अटो व्यवसायीहरुले विरोध प्रदर्शन गरेर आफ्नो पहिलो चरणको आन्दोलन टुंग्याएका हुन्। सरकार र राष्ट्र बैंकको नीतिका कारण अटो व्यवसाय कठिन अवस्थामा पुगेको भन्दै उनीहरुलेसडकमा उत्रिएर आन्दोलन गर्न बाध्य भएका बताएका छन्।

अटो व्यवसायीहरुले ‘ब्याजदर नियन्त्रण गर’, ‘चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर’, ‘मौद्रिक नीति परिमार्जन गर’, ‘गरी खान देऊ’, ‘देशमा सरकार त छ ?’, ‘जसले कर तिर्छ, उसैलाई पेल्ने’लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्।

चरणबद्ध आन्दोलन गर्दै आएका अटो व्यवसायीहरुले अझै पनि आफ्ना माग पूुरा नभए दोस्रो चरणको कडा आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन्। सम्बन्धित निकायले अझै पनि अटो व्यवसायीका माग नसुने तथा पूरा नगरे कार्य समितिको बैंठकबाट दोस्रो चरणको आन्दोलनको घोषणा गरिने नाडाका अध्यक्ष धुुव्र थापा बताउँछन्। ‘आज हाम्रो पहिलो चरणको आन्दोलनको अन्तिम दिन हो’, उनले भने ‘अबको केही दिनमा माग सुुनुुवाइ भएन भने हामी कार्यसमितिको बैठक राखेर योभन्दा कडा आन्दोलनमा जान्छौँ।’

असहज परिस्थतिका बीचमा चालुुपुँजी कर्जा मार्गदर्शन जारी गरी व्यवसायीलाई झनै अप्ठ्यारो भएको थापाले बताए। उनले यो मार्गदर्शनलाई २ वर्षका लागि स्थगित गर्न माग गरे। 

नगद मार्जिन पनि धेरै अन्यायपूूर्ण रहेको थापाको भनाइ छ। ‘यसमा अहिलेको व्यवस्थालाई खारेज गरी पहिले भएको व्यवस्था गर्न पनि हामीले माग गरेका छौँ’, उनले भने।

अध्यक्ष थापाले सतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतीतपत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने, अटो लोन, हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने, सीडी रेसियोलाई पुनरावलोकन गर्नुपर्नेलयायतका माग यथावत नै रहेका बताए। 

नाडाका उपाध्यक्ष सुुनिल रिजाल पनि सरकार र राष्ट्र बैंकले ल्याएको अमैत्रीपूूर्ण नीतिले अटो व्यवसाय धरासायी बनेपछि आन्दोलन गर्न सडकमा उत्रिन बाध्य भएको बताउँछन्। ‘आयात खोल्नु हाम्रो अन्तिम माग थियो तर सरकारलाई आवश्यकता भएकाले त्यसलाई सबैभन्दा पहिला सम्बोधन गरियो’, उनले भने, ‘हाम्रो मुुख्य माग भनेको चालुुुपुँजी मार्गदर्शन अहिलेलाई स्थगित गर्नुुपर्छ भन्ने हो, त्यो भएकाले हामीले पनि आन्दोलन रोकेनौँ।’

मौद्रिक नीतिमा भएका व्यवस्थाहरुले बैंकको ब्याजदर बढेको उल्लेख गर्दै रिजालले आफूहरुले मौद्रिक नीति पनि परिमार्जन गर्र्नुपर्ने माग राखिएको बताए। ‘यस विषयमा सरकार पनि दबाबमा रहेकोले मागहरु सम्बोधन हुनेमा अटो व्यवसायीहरु आशावादी छन्’, उनले भने, ‘यदि माग सम्बोधन भएन भने दोस्रो चरण आन्दोलनको घोषणा गछौँ।’

नाडामा निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुुलाल बैंकको ब्याजदरमा धेरै वृद्धि भएको, अर्थ मन्त्रालय र राष्ट्र बैंकको नीतिका कारण व्यवसाय गर्ने अवस्था नरहेपछि अटो व्यवसायी शान्तिपूूर्ण आन्दोलनमा उत्रिएको बताउँछन्। ‘सम्रगमा भन्दा चर्को ब्याजदर र राष्ट्र बैंकको मौद्रिक नीतिका कारणले व्यवसाय अप्ठ्यारो अवस्थामा छ’, उनले भने, ‘त्यसलाई सुुधार गर्नुुपर्छ भन्नका लागि हामी यो आन्दोलनमा आएका छौँ।’ 

अटो व्यवसायीका १० मागमध्ये आयात खुुलाउने मागमात्रै सम्बोधन भएको र बाँकी ९ वटा माग सम्बोधन हुन बाँकी रहेको दुुलालको भनाइ छ।

नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठिया नाडाले सरकार र राष्ट्र बैंकको नीतिकाविरुद्ध आफूहरुको पनि समर्थन रहेको बताउँछन्। ‘यो समस्या नाडाको मात्रै नभएर सबै व्यवसायीको हो’, उनले भने, ‘सरकारले हरेक दिन नयाँ नयाँ समस्या सिर्जना गरेर व्यवसायी गाह्रो अवस्थामा पुुगेका छन्।’

नाडाले गरेको आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल टिपर तथा ट्रक व्यवसायी समिति, नेपाल हेभी इक्युप्मेन्ट व्यवसायी, नेपाल समुद्रपार निकासी पैठारी संघलगायतले ऐक्यबद्धता जनाएका छन्।