काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले अडलट कारोबार नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिएको छ । 

धितोपत्र कारोबार सम्बन्धमा बनेको कानूनी व्यवस्थाको प्रावधान विपरीत सदस्य दलाल व्यवसायीको टिएमएस प्रणालीबाट अनलाइन तथा अफलाइनमार्फत समेत अडलट कारोबार नगर्न नगराउन नेप्सेले कडा निर्देशन दिएको हो । 

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम(५)को उपविनियम(१)मा कारोबार हुने धितोपत्र सेयर वा सामूहिक लगानी प्रयोजनको ईकाई भएमा अंकित मूल्य रु. १० भएमा १०० कित्ता र अंकित मूल्य रु. १०० भएमा १० कित्ता कारोबार इकाई हुने यवस्था रहेको छ । साथै, सोही विनियमको उपविनियम(२)मा भएको व्यवस्था बमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य रु. १० भएमा १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य रु. १००० भएमा १ कित्ता कारोबार इकाई हुने उल्लेख छ । सोही विनियमको उपविनियम(३) बमोजिम उपविनियम (१) र (२) मा उल्लिखित कारोबार इकाईभन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिनेछ, तर कारोबार इकाई वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था रहेको छ ।