काठमाण्डौ । विश्व सेयर बजारमा निरन्तर गिरावट आउँदा शीर्ष अर्बपतिहरुको सम्पत्तिमा पनि भारी गिरावट आएको छ। 

पछिल्लो २४ घन्टामा मात्रै बर्नार्ड अर्नाल्ड, एलन मस्क, जेफ बेजोस, मुकेश अम्बानीलगायत अन्य अर्बपतिहरुको सम्पत्तिमा तीव्र गिरावट आएको छ। यसअघि नै ठूलो घाटा झेल्दै आएका भारतीय उद्योगपति गौतम अडानीले करिब ६ अर्ब डलर गुमाएका थिए।

पछिल्लो २४ घन्टामा टेस्लाका सीईओ तथा विश्वकै दोस्रो धनीव्यक्ति एलन मस्कलाई सबैभन्दा ठूलो घाटा भएको छ। मस्कको नेटवर्थ एकै झट्कामा ७.१ अर्ब डलरले घटेर १९१.१ अर्ब डलरमा झरेको छ। टेस्ला इंकको सेयर मंगलबार ५.२५ प्रतिशतले घटेर १९७.३७ डलरमा बन्द भएको छ। 

धनाढ्यको सूचीमा शीर्ष स्थानमा रहेका बर्नार्ड अर्नाल्टको सम्पत्ति पनि यो अवधिमा ५.५ अर्ब डलरले घटेर २०९.२ अर्ब डलरमा झरेको छ।

आफ्नो सम्पत्ति गुमाउने अर्बपतिहरुको सूचीमा अर्को नाम अमेजनका संस्थापक जेफ बेजोसको छ। उनले पछिल्लो २४ घन्टामा २.६ अर्ब डलर गुमाए। ११७.८ अर्ब डलरको सम्पत्तिका साथ उनी तेस्रो धनी हुन्। 

चौथो नम्बरमा रहेका ल्यारी एलिसनले यस अवधिमा १.७ अर्ब डलर गुमाए। उनको कुल सम्पत्ति ११०.६ अर्ब डलरमा झरेको छ। यसबाहेक माइक्रोसफ्टका संस्थापक बिल गेट्स १०५.७ अर्ब डलरको सम्पत्तिसहित सूचीमा १.३ अर्ब डलर गुमाएका छन्।

शीर्ष १० अर्बपतिको सूचीमा रहेका भारतीय उद्योगपति तथा एसियाका धनी मुकेश अम्बानीलाई पनि ठूलो घाटा भएको छ। फोर्ब्सका अनुसार पछिल्लो २४ घन्टामा उनले १.५ अर्ब डलर गुमाएका छन्। उनको सम्पत्ति ८४.४ अर्ब डलरमा खुम्चिएको छ। 

विश्वका छैटौँ धनी दिग्गज लगानीकर्ता वारेन बफेटको कुल सम्पत्ति २ अर्ब डलरले घटेर १०५.२ अर्ब डलर झरेको छ। कार्लोस स्लिम हेलु ०.८५ अर्ब डलर गुमाएर ८९.९ अर्ब डलरसहित सातौँ धनी बनेका छन्। १० औँ धनी स्टिभ बाल्मरले १.४ अर्ब डलर गुमाएका छन्।

पछिल्लो २४ घन्टाभित्र धेरै सम्पत्ति गुमाउने अर्बपतिको सूचीमा एलन मस्क पहिलो नम्बरमा छन् भने गौतम अडानीको नाम दोस्रो नम्बरमा छ। गौतम अडानीले पछिल्लो २४ घन्टामा ५.९ अर्ब डलर घाटा व्यहोर्नुपरेको छ। उनको नेटवर्थ ४१.४ अर्ब डलरमा झरेको छ। उनी विश्वका अर्बपतिको सूचीमा २६ औँ स्थानमा पुगेका छन्।