काठमाण्डौ । अडानी इन्टरप्राइजेजले बुधबार राति अबेर पूर्ण रुपमा सब्सक्राइब्ड भएको भारु २० हजार करोड फलो–अन पब्लिक अफर (एफपीओ) फिर्ता लिने निर्णय गरेको छ।

हिन्डनबर्गको रिपोर्ट सार्वजनिक भएपछि अडानी समूहले घटेको स्टकबीच यो ठूलो कदम चालेर सबैलाई चकित बनाएको छ। समूहले गए राति विज्ञप्ति जारी गर्दै एफपीओमा लगानी गरेका सबै लगानीकर्ताको पैसा फिर्ता गरिने जनाएको छ।

अब बिहीबार बिहान अडानी इन्टरप्राइजेज लिमिटेडका अध्यक्ष गौतम अडानीले एक भिडियो विज्ञप्ति जारी गर्दै यो निर्णय पछाडिको नियत स्पष्ट पारेका छन्। ‘सब्सक्राइब्ड गरिसकेपछि हाम्रा सबै एफपीओ फिर्ता लिने हाम्रो निर्णयले धेरैलाई छक्क परेको हुनुपर्छ तर हिजोको बजारको अवस्था हेर्दा हाम्रो बोर्डले एफपीओका साथ अगाडि बढ्न नैतिक रुपमा उपयुक्त नहुने महसुस गर्यो’, अडानीले भनेका छन्, ‘एक उद्यमीका रुपमा मेरो ४ दशकको यात्रामा मैले सबै सरोकारवाला र विशेषगरी लगानीकर्ताबाट ठूलो सहयोग पाएको छु। मैले जीवनमा जे पनि पाएको छु त्यो तपाइँहरुकै भरोसाले मात्रै पाएको छु। मेरो सफलता तपाइँहरुको सफलतो हो। मेरा लागि मेरा लगानीकर्ताको चासो सर्वोपरि छ, त्यसपछि सबै कुरा आउँछ। हामीले लगानीकर्तालाई सम्भावित घाटाबाट बचाउन एफपीओ बन्द गर्यौँ।’

अडानीले भनेका छन्, ‘वर्तमान गतिविधि र भविष्यका योजनाहरुमा यो निर्णयको कुनै प्रभाव हुने छैन। हाम्रा आधारभूत कुराहरु धेरै बलियो छन् र हाम्रो ब्यालेन्स सिट स्वस्थ छ। हाम्रो नगद प्रवाह पनि बलियो छ। हामीसँग ऋण चुक्ता गर्ने उत्कृष्ट रेकर्ड छ।’

‘हामीले दीर्घकालीन मूल्य निर्माण र वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्छ। एकपटक बजार स्थिर भएपछि, हामी हाम्रो पुँजी बजार रणनीति समीक्षा गर्नेछौँ। हामी ईएसजीमा केन्द्रित छौँ र हामीले गर्ने हरेक व्यवसायमा अझ राम्रो गर्नमा केन्द्रित छौँ’, अडानीले अगाडि भनेका छन्, ‘म भारत र विदेशका हाम्रा लगानी बैंकर, संस्थागत लगानीकर्ता र सेल अनर्सहरुलाई गत एक हप्तादेखि स्टकमा अस्थिरताको बाबजुद हाम्रो एफपीओलाई निरन्तर समर्थनका लागि धन्यवाद दिन चाहन्छु। हामीमा तपाइँको विश्वास सन्तोषजनक छ। आगामी दिनमा पनि तपाइँहरुका साथ र सहयोग निरन्तर रहनेछ भन्नेमा विश्वस्त छु।’ –एजेन्सी