काठमाण्डौ । पछिल्लो २ महिनामा विश्वभर सेयर बजारमा गिरावट आएको छ। अमेरिकी फेडले फेरि ब्याजदर बढाउने संकेत गरेपछि विश्व सेयर बजारमा हलचल देखिएको छ। तर, पछिल्ला चार कारोबार दिनमा आएको गिरावटका कारण बेलायतले बजार पुँजीकरणमा भारतलाई उछिनेको छ।

ब्लुमबर्गको रिपोर्टका अनुसार भारतीय सेयर बजारमा आएको गिरावटका कारण बेलायत भारतलाई पछि पार्दै विश्वको छैटौं ठूलो इक्विटी बजार बनेको छ। २९ मे २०२२ मा अर्थात करिब ९ महिनामा पहिलोपटक बेलायतले यस मामिलामा भारतलाई उछिन सफल भएको हो। 

बेलायतको प्राइमरी लिस्टिङको संयुक्त बजारपुँजी ३.११ ट्रिलियन डलर पुगेको थियो। जुन भारतको भन्दा ५.१ अर्ब डलर बढी हो।

अमेरिकी डलरको तुलनामा बेलायती मुद्रा पाउन्ड कमजोर भएका कारण बेलायतको सेयर बजार लगानीकर्तालाई आकर्षित गर्न थप शक्तिशाली बन्दै गएको छ। जसका कारण बेलायतको सेयर बजार लगानीकर्ताको उच्च आम्दानीको कारण बन्दै गएको छ। साना तथा मिड क्याप कम्पनीबाट लगानीकर्ताले राम्रो प्रतिफल पाइरहेका छन्। बेलायतको एफटीएसई ३५० इन्डेक्स यो वर्ष ५.९ प्रतिशतले बढेको छ। ब्लु चिप एफटीएसई १०० ले गत हप्ता पहिलोपटक ८००० अंक पार गर्यो।

बेलायतको सेयर बजारको तुलनामा भारतीय सेयर बजारको कमजोर प्रदर्शनले लगानीकर्तालाई घाटा पुर्याइरहेको छ। पछिल्लो ४ कारोबार सत्रमा लगानीकर्ताको ७ लाख करोड रुपैयाँमात्रै गुमाएका छन्। यी ४ दिनमा सेन्सेक्स १५०० अंकभन्दा बढीले घटेको छ। बुधबारको गिरावटपछि बीएसई लिस्टेड कम्पनीहरुको कुल मार्केट क्याप ३.९ लाख करोड रुपैयाँले २६१.३ लाख करोड रुपैयाँमा घटेको छ। 

यो वर्ष २०२३ मा अहिलेसम्म एमएससीआई इन्डिया इन्डेक्स ६.१ प्रतिशतले घटेको छ। गत जनवरी २४ मा अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको रिपोर्ट प्रकाशित भएपछि अडानी समूहको सेयरमा भारी गिरावट आएको छ। जसले अडानी समूहको मार्केट क्याप १४२ अर्ब डलरले घटेको छ। यसले विदेशी लगानीकर्तामा चिन्ता बढाएको छ। उनीहरु भारतीय बजारमा लगानी गर्न थप सतर्क हुन थालेका छन्। 

विदेशी लगानीकर्ताले बेलायतको सेयर बजारलाई अझ आकर्षक देखिरहेका बेला भारतीय सेयर बजारमा उनीहरुको चासो घट्दै गएको छ। जसका कारण अप्रिल–डिसेम्बरमा भारतीय बजारमा विदेशी लगानीको संख्या १५ प्रतिशतले घटेको छ। 

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०२२–२३ को पहिलो ९ महिनामा सेयर बजारमा ३६ अर्ब ७५ करोड डलरको प्रत्यक्ष विदेशी लगानी आएको छ। 

अर्कोतर्फ इक्विटीमा आउने सबै एफडीआईलाई हेर्दा यो सन् २०२१ को अप्रिल–डिसेम्बरमा ६०.४ अर्ब डलरको तुलनामा २०२२ को अप्रिल–डिसेम्बरमा ५५ अर्ब डलरमा झरेको छ। अर्थात् झन्डै ८ प्रतिशतले गिरावट आएको छ। यो एफडीआई २०२०–२१ मा १९ प्रतिशतले बढेपछि २०२१–२२ मा १ प्रतिशतले घटेको थियो। –एजेन्सी