काठमाण्डौ । भारतको भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट भारत तथा विश्वका अन्य देशहरुमा कोभिसिल्ड भ्याक्सिन आपूर्ति गर्ने विश्वकै सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । यो इन्स्टिच्युटमा ठूलो मात्रामा कोभिसिल्ड भ्याक्सिनको उत्पादन भइरहेको छ । 

कोरोना संक्रमण देखापरेसँगै भारतका जनतामाझ पूनवाला सिरम इन्स्टिच्युटको नाम चर्चाको शिखरमा रहेको छ । यसको एउटै कारण भनेको यस इन्स्टिच्युटबाट विकास गरिएको कोभिसिल्ड भ्याक्सिन हो । विश्वभरमा भयावह रुपमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सिरम इन्स्टिच्युटले प्रयोगको अनुमति प्राप्त गर्नुअघि नै काभिसिल्डको जोखिमयुक्त उत्पादन सुरु गरेको थियो । यसबीचमा परीक्षण असफल भएमा कोभिसिल्डका लागि भएका सबै प्रयासहरु बिफल हुने चुनौति इन्स्टिच्युटसामु थियो । तर त्यतिबेला विश्वसँग जोखिम उठाउनुका अलावा अन्य कुनै विकल्प पनि थिएन । 

यतिबेला सिरम इन्स्टिच्युटकासामू विश्वभरको भ्याक्सिनको माग पूरा गर्ने चुनौति छ । त्यो पनि यस्तो समय जब सम्पूर्ण मानव जगतको अस्तित्व भ्याक्सिनमाथि निर्भर छ । 

कोभिसिल्ड भ्याक्सिन एकदमै कम समयमा तयार भएको थियो । यो आधुनिक मेडिसिनको सबैभन्दा चाँडो तयार गरिएको भ्याक्सिन भएको दाबी गरिएको छ । जब विश्वभर कोरोना भ्याक्सिनमाथि कयौँ अनुसन्धानहरु भइरहेका थिए, तब सम्पूर्ण विश्वको ध्यान अक्सफोर्ड–एस्त्रेजेनेकामाथि टिकेको थियो । 

सुरुवाती समयमा सिरम इन्स्टिच्युटले जब एस्त्रेजेनेकासँग सम्झौता गर्यो तब भारतले पनि राहतको स्वास फेर्यो । यतिबेला सिरम इन्स्टिच्युट कोभिडसिल्डको उत्पादन मात्रै नगरिकन आफ्नो कोरोनाको दुुईवटा भ्याक्सिन विकास पनि गरिरहेको छ । जसमा नोभाभ्याक्स पनि समावेश छ । 

भारतमा २०२१ जनवरीमा खोप अभियान सुरु भएको थियो । भारतमा कोभिसिल्डसँगै कोभ्याक्सिनलाई सँगै अनुमति दिइएको थियो । काभिसिल्डसँग ठूलो सर्कुलेसन सिस्टम रहेको छ । त्यसैले यसलाई भारतको मात्रै नभएर विश्वको नै सबैभन्दा धेरै वितरित भ्याक्सिन भएको दाबी गरिएको छ । सिरम इन्स्टिच्युटमा तयार गरिएको कोभिसिल्ड भ्याक्सिनको करोडौ डोज भारत बाहिर पनि पठाइएको थियो । 

अन्य देशहरुलाई पनि उपलब्ध गराउनुछ भ्याक्सिन
देशहरुका बीच भएको सहमतिबमोजिम नै कोभ्याक्स आपूर्ति सुरु हुन गईरहेको थियो । तर मार्च महिनामा भारतमा कोरोनाको दोस्रो लहर देखिन थाल्यो । भारतमा अचानक भ्याक्सिनको माग बढ्न थाल्यो । राज्य सरकारहरुबाट दवाब आउन थाल्यो । जसका कारण आपूर्ति तथा उत्पादन बढाइयो । तर भारतभित्र माग धेरै भएका कारण भारतबाहिर आपूर्ति गर्न नहुने आलोचना सुरु भयो । 

यस्तोमा भारत सरकारले भारतबाहिर हुने भ्याक्सिनको आपूर्ति बन्द गर्यो । 

अब भारतसँग सम्झौता गरेका देशहरुले भ्याक्सिनका लागि कम्तीमा पनि एक वर्षसम्म कुर्नुपर्ने भएको छ । भारतमा नै भ्याक्सिनको प्रक्रिया सुस्त रहेकाले सिरम इन्स्टिच्युट र पूनावाला आशा अनि आलोचनाको केन्द्रमा रहेका छन् । 

सिरम इन्स्टिच्युटका सीइओ अदार पूनावाला इन्स्टिच्युटका संस्थापक तथा आफ्ना बुुवा सायरस र परिवारका साथ लन्डन पुुगेका छन् । उनी देशभित्रबाट आएका धम्कीहरुका कारण देश बाहिर गएको अफवाहहरु फैलिएका छन् । तथापी उनले यी आरोपहरुको खण्डन गरेका छन् । उनले बेलायतमा एउटा ठूलो लगानीको घोषणा समेत गरेका छन् । 

यस्तोमा मानिसहरुलाई पूनावाला र सिरम इन्स्टिच्युटको साम्राज्य कसरी सुरु भयो भन्ने जिज्ञासा लाग्नसक्छ । 

घोडाबाट भ्याक्सिनको व्यापारसम्मको यात्रा
पूनावालाको परिवार अंग्रेज शासनकालमा १९ औँ शताब्दीमा भारतको पूणे आएको बताइन्छ । कयौँ पारसी परिवार अंग्रेज शासनकालमा भारतमा बसोवास गरे र प्रशासनदेखि लिएर व्यापार व्यवसायमा स्थापित भए । पारसी परिवार जहाँ बसे ती शहरहरुको नाम उनीहरुको नाममा देख्न सकिन्छ । यसप्रकार अदारको परिवारको नाम पूनावाला हुन गयो । 

भारत स्वतन्त्र हुनुअघि यो परिवार निर्माणको काम गर्ने गर्दथ्यो । तर यो भन्दा पनि घोडाको कारोबारबाट यो परिवारको नाम चर्चित हुन पुुग्यो । आज पनि यो परिवारलाई मानिसहरु घोडाको कारोबारी भनेर चिन्ने गर्दछन् । घोडाको कारोबार अदारका हजुरबुवा सोलि पूनावालाले सुरु गरेका थिए । 

उनले एउटा तबेला बनाए, जसमा दौडका लागि उन्नत प्रजातिका घोडाहरु तयार गर्ने गरिन्थ्यो । बेलायती अधिकारी र ठूला व्यवसायीसँग यो परिवारको सम्बन्ध घोडाको कारोबारबाट कायम भएको थियो । 

तर भ्याक्सिन निर्माता सिरम इन्स्टिच्युटको सुरुवात कसरी भयो ? वास्तवमा यसको सम्बन्ध पनि घोडाको कारोबारसँग जोडिएको छ । अदारका बुवाले जब आफ्नो घोडाको कारोबार बढाउने सोंच बनाए तब उनको ध्यान एउटा यस्तो क्षेत्रमा गयो, जसको बारेमा अधिक जानकारी उपलब्ध थिएन । र, न कसैले यो क्षेत्रको भविष्यको सूनिश्चिीतता दिन सकोस् । 

तर सायरसले यो जोखिम उठाए र भ्याक्सिन निर्माणको कारोबारमा पाइला टेके । यो त्यो समय थियो जब भारतमा सीमित मात्रामा भ्याक्सिन उत्पादन हुने गर्दथ्यो  र त्यसमा पनि सरकारको भूमिका अधिक हुने गर्दथ्यो । 

त्यतिबेला मुम्बईमा हाइफिन इन्स्टिच्युटले भ्याक्सिन उत्पादन गर्दथ्यो । पूनावालाको घोडा फार्ममा बुढा भएका घोडाहरुको प्रयोग सर्पदंश र टिटनासको खोप बनाउनमा हुने गर्दथ्यो । घोडाको रगतमा हुने सिरमबाट एन्टीबडी विकास गर्नका लागि घोडाहरुको प्रयोग गर्ने गरिन्थ्यो । सायरसको ध्यान यसतर्फ गएपछि उनले आफ्नो फार्ममा बुढा भएका घोडाहरुको प्रयोग आफैं गर्ने निर्णय गरे ।

 

सायरसले एक अन्तर्वार्तामा भनेका छन्, ‘हामी हाम्रो घोडाहरु हाइफिन इन्स्टिच्युटलाई दिने गर्दथ्यौ । त्यहाँ कार्यरत एकजना डाक्टरले तपाइँसँग घोडा छ, जमिन छ । यदि तपाइँ भ्याक्सिन उत्पादन गर्न चाहनुहुन्छ भने तपाइँलाई केवल एउटा कारखानाको मात्रै आवश्यकता पर्छ भने ।’ 

यो सल्लाहबाट उनले नयाँ उद्योगका लागि अवसर देखे । परिणामस्वरुप उनले सन् १९६६ मा सिरम इन्स्टिच्युटको स्थापना गरे । यो त्यो समय थियो जतिबेला भारत र विश्वभरका सरकारहरु संक्रामक रोगहरुविरुद्ध खोप अभियान चलाइरहेका थिए । जसका कारण भ्याक्सिनको अनुुसन्धान, विकास र प्रयोगमा ध्यान दिइँदै थियो । स्थापना भएसँगै सिरम इन्स्टिच्युटले कयौँ रोगहरुका लागि भ्याक्सिनहरु उत्पादन गर्न सुरु गर्यो । 

हाइफिन इन्स्टिच्युटका कयौँ अनुसन्धानकर्ताहरु सिरमसँग जोडिए । सन् १९७१ मा दादुरा र स्क्रोफुला रोगको भ्याक्सिन प्रभावकारी बन्यो । यसको केही समयपश्चात अन्तर्राष्ट्रिय स्तरमा पोलियो उन्मुलन कार्यक्रम सुरु गरियो । सिरमले यो कार्यक्रमलाई अवसरका रुपमा लियो । सिरमले यूरोप र अमेरिकी प्रविधि भित्र्याएर उत्पादन बढायो र त्यसको मूल्य सस्तो राख्यो । 

तथापि सामाजिक स्वास्थ्यसँग जोडिएका खोप कार्यक्रमहरु अहिले पनि सरकारको हातमा रहेको छ । यस्तोमा जोकोहीले पनि सरकारको नियमहरु र अवरोधहरुको सामना गर्नुपर्ने हुन्छ र सिरमले पनि यस्तै अवस्थाबाट गुज्रिनु पर्यो । 

सायरस भन्छन्,‘कयौँ प्रकारका अनुमतिहरु प्राप्त गर्नुपर्ने हुन्थ्यो  । यसका लागि महिनौ र वर्षौ लाग्ने गर्दथ्यो । सुरुवाती २५ वर्ष त एकदमै कठिनताका साथ बित्यो । यसपश्चात हाम्रो वित्तीय अवस्था बलियो बन्यो । पेपरवर्क गर्नका लागि हामीसँग उपयुक्त व्यक्तिहरुको समूह थियो । जो दिल्ली गएर सरकारी अधिकारीहरुको दयामा काम गर्ने गर्दथे । यस्तै अवस्था अहिले पनि यथावत नै छ । यदि यस्ता कर्मचारीहरुलाई ध्यान दिइएन भने परमिट प्राप्ति प्रक्रिया ढिलो हुने गर्दछ ।’

सायरसको कार्यकालमा सिरम इन्स्टिच्युटको भ्याक्सिन उत्पादनमा दबदबा स्थापित भयो । सिरम इन्स्टिच्युटले विश्वभर भ्याक्सिन आपूर्ति गर्न थाल्यो र विश्वका धनाढ्यको सूचीमा सायरसको नाम पनि अगाडि आउन थाल्यो । 

सायरसले सिरम इन्स्टिच्युटको सुरुवात ५ लाख रुपैयाँँबाट गरेका थिए । अहिले सायरस विश्वका धनाढ्यको सूचीमा १६५ औँ स्थानमा रहेका छन् । फोब्स इन्डियाका अनुसार उनी भारतकोे छैठौँ धनाढ्य हुन् ।

अदारको कार्यकालः ३५ देशबाट १६५ वटा देशमा फैलियो कारोबार 
अदार पूनावाला बेलायतमा आफ्नो पढाई सकेर सन् २००१ मा सिरम इन्स्टिच्युटसँग जोडिए । सर्वप्रथम उनले सेल्स डिपार्टमेन्टमा काम गरे । अहिले इन्स्टिच्युटमा अदारको छाप उनका बुवाको भन्दा धेरै देखिएको छ । सायरसको कार्यकालमा सिरम भारतमा मात्रै केन्द्रित थियो । 

सन् २०११ मा अदार पूनावाला सिरम समूहको सीईओ बने । सीईओ बनेपछि उनले मुख्यतः दुुईवटा कुरामा बढी ध्यान केन्द्रित गरे । एक त उनले भ्याक्सिनको उत्पादन क्षमता बढाउनतर्फ ध्यान दिए भने अर्काेतर्फ धेरैभन्दा धेरै देशमा भ्याक्सिनको आपूर्तिमा ध्यान दिए । सन् २००१ सम्म सिरमले ३५ वटा देशमा भ्याक्सिन आपूर्ति गर्ने गर्दथ्यो । तर अहिले सिरमले विश्वका १६५ देशमा भ्याक्सिन आपूर्ति गरिरहेको छ । 

तथापि यो विस्तार र प्रविधिमा गरिएको सम्पूर्ण लगानी पारिवारिक कारोबार भएको पूनावाला बताउँदै आइरहेका छन् । उनका अनुसार यसमा केवल उनको परिवारको पैसा मात्रै लगानी भएको छ । 

कम्पनीले केही प्राइभेट इक्विटीका माध्यमबाट पनि लगानी जुटाउने प्रयास गरेको थियो । तर त्यो सफल भएन । यदि यस्तो भएको भए सिरम इन्स्टिच्युट पनि लगानी जुटाउनका लागि आम सर्वसाधारणमा जाने थियो । 

कोरोनाको भ्याक्सिन बनाउनका लागि सिरमले निकै ठूलो जोखिम उठायो र सफलता पनि हात पार्यो । 

खोप अभियानको सुरुवात र आलोचना
सिरम इन्स्टिच्युटको विकास मात्रै नभई कोरोना संक्रमण महामारीलाई लिएर दुरदर्शी सोच राख्नेवाला पूनावालाले खोप अभियानको सुरुवातमा आलोचनाको समेत सामना गुर्नपर्यो । यो आलोचनाका कारण भारतमा खोप अभियान सुुस्त गतिमा चलिरहेको छ । भारतमा कारेनाको दोस्रो लहर बढेपछि खोप अभियानका लागि दवाब बढ्यो । सुरुवातमा सम्झौताबमोजिम भारतले अन्य देशहरुलाई भ्याक्सिन उपलब्ध गरायो । यस्तै भ्याक्सिनको पर्याप्त उत्पादन नभइरहेका बेला राज्य सरकारहरुलाई समेत भ्याक्सिन खरिद गर्ने अधिकार दिइयो । विश्वमा उत्पादन भएका अन्य भ्याक्सिनका लागि अर्डर पनि दिइएन । 

यस्तोमा सिरम इन्स्टिच्युट र भारत सरकारसामु विश्वको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन क्षमता भएर पनि किन यस्तो अवस्था सिर्जना भयो भनेर प्रश्नहरु उठ्न थालेका छन् । 

अदार पूनावालाले खोप अभियान सुरुहुनुभन्दा अघि नै एक ट्वीट गर्दै भारतीयहरुलाई भ्याक्सिनको दुुई डोज दिनका लागि ८०,००० करोड भारतीय रुपैयाँ आवश्यक पर्ने सल्लाह दिएका थिए । यसका साथै उनले आवश्यक डोज आपूर्ति गर्नका लागि केही समय लाग्ने बताएका थिए । 

उनले भारतलाई प्राथमिकता दिने नीतिमा काम गरे र भ्याक्सिनको सबै खुराक केन्द्र सरकारलाई सुम्पिए । यसका साथै उनले गरिब देशसँग भएको सम्झौताको विषयलाई उठाए । भ्याक्सिनको उत्पादन लागत र सिरमले भारत सरकारलाई उपलब्ध गराउने मूल्यमा अन्तर रहेको छ । 

यसैबीच अमेरिकाले कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगायो । जसका कारण अदार पूनावालाले अमेरिकी राष्ट्रपतिलाई ट्याग गर्दै एक ट्वीट गरे । 

तथापि यी सबैका बाबजुत पनि खोप अभियानको नीति र वास्तविक कार्यक्रमको आलोचना जारी नै रहेको छ । सिरम इन्स्टिच्युट र अदार पूनावालाले बेला–बेला आफ्नो पक्षमा कुराहरु राख्नु परिरहेको छ । 

केन्द्र सरकारले राज्य सरकारहरुलाई भ्याक्सिन खरिद गर्न अनुमति प्रदान गर्दा भ्याक्सिन कहिलेसम्म उपलब्ध हुन्छ भनेर कुनै स्पष्ट जानकारी दिएको थिएन  । केन्द्रलाई १५० भारुमा उपलब्ध हुने भ्याक्सिन राज्य सरकारहरुलाई ४०० भारुमा किन उपलब्ध गराइँदैछ भनेर केन्द्र सरकारले अहिलेसम्म कुुनै कारण खुलाएको छैन । 

भारतका राज्य सरकारहरुले भ्याक्सिन उत्पादनका लागि दवाब दिइरहेका छन् । बढ्दो दवाबका कारण केन्द्र सरकारले सिरम इन्स्टिच्युटलाई देश बाहिर भ्याक्सिन आपूर्ति गर्न प्रतिबन्ध लगाएको छ । जसका कारण अन्य देशमा सिरमको अस्तित्व संकटमा परेको छ । 

जीवनशैलीका कारण चर्चामा 
यतिबेला अदार पूनावाला कोरोना भ्याक्सिनका कारण चर्चामा रहे पनि उनको परिवार आफ्नो जीवनशैलीका कारण पहिलैदेखि नै चर्चामा रहने गर्दथ्यो । पुनेमा अदारको शानदार घोडा फार्म र फार्म हाउस रहेको छ । यसका साथै अहिले उनको बेलायतमा रहेको महल पनि चर्चामा रहेको छ । 

सन् २०१५ मा उनले मुम्बईको समुन्द्री तटमा एउटा आलिसान घर खरिद गरेका थिए । जुन पहिले अमेरिकी वाणिज्य दूतावास थियो । उनले यो घर ११ करोड अमेरिकी डलरमा खरिद गरेका थिए । यो त्यति बेला मुृम्बईको सबैभन्दा महंगो घर थियो । 

आफनो बुवा सायरस जस्तै उनमा पनि महंगा र विलासी वस्तुहरु प्रति मोह रहेको छ । उनीसँग २० वटा कार रहेका छन् । यसमा रोल्स  फरारी, बेन्ट्ले, र ल्याम्बोरगेनी जस्ता महंगा कारहरु रहेका छन्।   

(बीबीसीबाट धर्म मलासीको भावानुवाद)