काठमाण्डौ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २७९.८५ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाको नाफा १ करोड २६ लाख रुपैयाँ रहेको थियो।

संस्थाको सञ्चालन मुनाफा पनि ६५६.९५ प्रतिशत बढीले उकालो लाग्दै ७ करोड ५ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो मुनाफा ९३ लाख १८ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानीबापत ११ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ९७.३८ प्रतिशतले बढी हो। गत वर्ष यस्तो आम्दानी ५ करोड ९२ लाख रुपैयाँ रहेको छ।

संस्थाले यो अवधिमा १ अर्ब २८ करोड रुपैयाँ सापटी लिई २ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ७३ करोड ४४ लाख रुपैयाँ सापटी लिई १ अर्ब २५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाले रिजर्भको आकार १९३.२४ प्रतिशत बढाउँदै ११ करोड २८ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ३ करोड ८४ लाख रुपैयाँ थियो। 

चुक्तापुँजी २३ करोड ३९ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २७.४६ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४६.७९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४७.७१ रुपैयाँ रहेको छ।