काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकले अनएराइभल भिसाबापतको शुल्क नगदमै तिर्नुपर्ने निर्णय स्थगित गरिएको छ। 

अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै विदेशी पर्यटकलले अनएराइभल भिसाबापतको २०० अमेरिकी डलर नगदै ल्याउनुपर्ने निर्णय स्थगित गरेको हो। ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७९ वैशाख ३ गते जारी सूचनाबमोजिमको विदेशी नागरिकलाई २०० अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने’, सूचनामा भनिएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै नेपाल प्रवेश गर्ने विदेशीले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी सहजीकरण प्रयोजनका लागि २०० अमेरिकी डलर साथमा ल्याउन विमानस्थल अध्यागमन कार्यालयले गत वैशाख ३ गते एक सूचना प्रकाशित गरी भनेको थियो। उक्त निर्णयको व्यापक आलोचना भइरहेको थियो। तिनै आलोचनाबीच अध्यागमनले उक्त निर्णय स्थगित गरेको हो। 

त्रिभुवन विमानस्थलमा हाल सेवा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सञ्चालनमा रहेको पीओएस मेसिनहरु थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने, आगमन कक्षतर्फ एउटा र प्रस्थान कक्षतर्फ एउटा एटीएम मेसिन थप गर्ने गरी आवश्यक प्रबन्ध मिलाउने निर्णयसमेत गरिएको सूचनामा उल्लेख छ। ‘भिसा शुल्क सम्बन्धमा कुनै असुविधा परेको वा नपरेको विषयमा टीआईए अध्यागमन कार्यालय, नागरिक उड्डयन कार्यालय र राष्ट्रिय वाणिज्य बैंकले नियमित अनुगमन र निगरानी गरी तत्काल सूचना आदानप्रदानमार्फत समस्या समाधान गर्ने निर्णयसमेत गरिएको छ’, सूचनामा भनिएको छ।