काठमाण्डौ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थि वर्षको बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता नरहेको बयान दिएका छन्। 

संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकमा शर्माले यस्तो बयान दिएका हुन्। अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका उनले बजेट निर्माण प्रक्रियामा बाहिरी व्यक्तिको संलग्नता नरहेको बयान दिएको समितिको एक सदस्यले बताए। ‘शर्माले बजेट निर्माण मूल्य–मान्यता र विधि–पद्धतिकै आधारमा गरिएको दाबी गरेका छन्’, ती सदस्यले भने। 

समितिले यसअघि मन्त्रालयका अधिकारी तथा कर्मचारीहरुसँग पनि सोछपुछ गरिसकेको छ। तर, उनीहरुले शर्माविरुद्ध बयान दिएका छैनन्। 

अनधिकृत व्यक्तिको संलग्नमा बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिनुअघि नै सोही दिन प्रतिनिधिसभाले शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।