काठमाण्डौ । सन् २०२२ को पहिलो त्रैमासमा मेटा (फेसबुक)को कमाइ अपेक्षाअनुरुप नभए पनि कम्पनीको सेयरमूल्यमा भने उछाल आएको छ। कम्पनीको आय विवरण बुधबारसार्वजनिक भएपश्चात कम्पनीको सेयरमूल्य १८ प्रतिशतले वृद्धि भएको हो। 

फेसबुकको प्रयोगकर्ताको संख्या अपेक्षाभन्दा कम भए पनि लगानीकर्ताहरु सम्भवतः यो संख्यादेखि खुसी देखिएका छन्। फेसबुकको मासिक सक्रिय प्रयोगकर्ता ३ प्रतिशतले वृद्धि भएका छन्। यस्तै दैनिक सक्रिय प्रयोगकर्ता ४ प्रतिशतले वृद्धि भएका छन्। 

मेटाले यस वर्षका लागि आफ्नो कुल खर्चको पूर्वानुमान पनि घटाएको छ। कम्पनीले यस वर्ष ९२ बिलियन देखि ९५ बिलियनसम्म खर्च हुने अपेक्षा गरेको छ। यसलाई लगानीकर्ताले स्वागत गर्नुका साथै सकारात्मक रुपमा लिएका छन्। 

यस वर्षको पहिलो त्रैमासमा २७.९ बिलियन डलर आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा ७ प्रतिशतले बढी हो। त्यस्तै कम्पनीको कुल आय ७.५ अर्थात प्रतिसेयर २.७२ डलरले वृद्धि भएको छ। 

यद्यपि कम्पनीसामु केही चुनौतीका संकेतहरु भने बाँकी नै छन्। टिकटकसँगको प्रतिस्पर्धा, मोनिटाइजका विषयहरु र एप्पलले प्राइभेसी सेटिङमा गरेका परिवर्तहरुले विज्ञापन व्यवसायमा पारेको प्रभावहरु कम्पनीका लागि चुनौतीका रुपमा रहेका छन्। 

मेटाको रिपार्टका अनुसार प्रतिविज्ञापनमा कम्पनीको औसतमूल्य गत वर्षको तुलनामा ८ प्रतिशतले घटेको छ। अघिल्लो त्रैमासमा भने प्रतिविज्ञापनमा कम्पनीको औसतमूल्य ६ प्रतिशतले वृद्धि भएको थियो। 

यस्तै रुस–युक्रेन युद्धका कारण रुसमा गत महिना फेसबुक र इन्स्टाग्राम बन्द हुँदा कम्पनीको व्यवसाय प्रभावित बनेको रिपार्टमा उल्लेख छ। यो चुनौती आगामी त्रैमासमा समेत देखिने कम्पनीले जनाएको छ। –एजेन्सी