-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अनलाइन युजर नेम र पासवर्ड दिन आनाकानी गर्ने ब्रोकरहरुको लाइसेन्स खारेजीसम्मको कारबाही गर्ने तयारी गरेको छ । 

ब्रोकरहरुले दुर्नियत राखेर आम लगानीकर्ताहरुले निःशुल्क पाउनुपर्ने युजर नेम र पासवर्ड नदिएकोमा चिन्ता व्यक्त गर्दै अघिल्लो साता नेप्सेले ५० वटै ब्रोकरलाई निःशुल्क लगइन लिने व्यवस्था गर्न र लगइन दिन नमान्ने ब्रोकरेज हाउसविरुद्ध लगानीकर्ताले समेत उजुरी गर्न सक्ने व्यवस्था गरेको थियो ।

नेप्सेले अनलाइनको लगइन नपाएका(पाउनबाट बञ्चित गराइएका) लगानीकर्ताहरुको उजुरी लिन छुट्टै डेक्स स्थापना गरी २ कर्मचारी नै खटाएको थियो ।

नेप्सेको गुनासो डेस्कमा दैनिकजसो लगानीकर्ताहरुको उजुरी आउने क्रम जारी रहेको स्रोते जनाएको छ । 'यसरी कडा सर्कुलर गर्दा पनि कतिपय ब्रोकरको कार्यशैलीमा सुधार आएको देखिएको छैन ।' नेप्सेका एक उच्चअधिकारीले बिजशालासँग भने-'कतिपय ब्रोकरले त अनलाइनको लगइन लिन चाहने लगानीकर्तालाई खालि चेक सही गरेर छाड्न सम्म भनिरहेका रहेछन् ।' 

ती अधिकारीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्सेको  सम्बन्धित शाखालाई अनलाइन युजर नेम र पासवर्ड नदिने ब्रोकरहरुको पहिचान गरी उनीहरुको गल्तीको अवस्था हेरेर लाइसेन्स खारेजीसम्म गर्न कडा निर्देशन दिएका दाबी गरे ।

साउदको बुझाईमा अनलाइन कारोबार प्रणाली असफल बनाउनैका लागि कतिपय ब्रोकरहरु नियोजित रुपमा असहयोग गरिरहेका छन् ।

अनलाइनको विषयमा गलत अफवाह फैलाइएको र लगइन दिन समेत अटेर गर्नु पछाडिको उद्देश्यउ नै आफूलाई असफल बनाउने दुर्नियत रहेको साउदले निकटस्थहरुसँग बताउने गरेका छन् । 

नेप्सेको तथ्यांकानुसार हालसम्म अनलाइन कारोबारका लागि लगइन युजर नेम र पासवर्ड लिनेको संख्या ४ हजार ९६ जना मात्र छ । लगइन लिएकामध्ये धेरैले अनलाइन कारोबार गरिरहेका छैनन् । यसमा ब्रोकरहरुकै शंकास्पद भूमिका कारण हुनसक्ने साउदको बुझाई छ ।

अनलाइन प्रणाली असफलको हवाला दिंदै केही माफियाहरु ब्रोकरसँग मिलेर नेप्से परिसूचक घटाई नियोजित रुपमा नै लागेको हुन सक्ने एक लगानीकर्ता शिशिर नेपालको दाबी छ । 

बजारलाई अप्राकृतिक रुपमा घटाई पुनः बढाएर बेच्ने दाउ हेरिरहेका केही संगठित र गलत नियत बोकेका ब्रोकर र ठूला सेयर माफियाहरुको चङ्गुलमा अनलाइनलाई पर्न नदिनैका लागि साउदले ब्रोकरविरुद्ध नै कारबाहीको कठोर डण्डा बर्साउन लागेका स्रोतहरु दाबी गर्छन् ।